क्यानबेरा । अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको छ। यस अवधिमा रोजगारीमा रहेका व्यक्तिको सङ्ख्या ३९ हजारले घटेको छ भने बेरोजगारको सङ्ख्या नौ हजारले बढेको छ।
अस्ट्रेलियाली तथ्याङ्क ब्युरो (एबीएस) का श्रम तथ्याङ्क प्रमुख सन क्रिकका अनुसार रोजगारीमा रहेका व्यक्तिको अनुपात ०.३ प्रतिशत विन्दुले घटेर ६३.६ प्रतिशतमा झरेको छ। त्यस्तै, श्रमशक्तिमा सहभागिता दर ०.२ प्रतिशत विन्दुले घटेर ६६.८ प्रतिशत कायम भएको छ।
पर्याप्त कामको समय नपाएका तर थप काम गर्न चाहने व्यक्तिको अवस्थालाई जनाउने अल्परोजगारी दर पनि ०.१ प्रतिशत विन्दुले बढेर ६.३ प्रतिशत पुगेको छ।
सेप्टेम्बरमा आंशिक समय काम गर्नेहरूको कुल कार्यघण्टा १.५ प्रतिशतले घटेको छ भने पूर्णकालीन काम गर्नेहरूको कार्यघण्टा ०.४ प्रतिशतले बढेको एबीएसले जनाएको छ।
यद्यपि, श्रम बजारको दीर्घकालीन प्रवृत्ति देखाउने तथ्याङ्कअनुसार बेरोजगारी दर ४.६ प्रतिशतमा स्थिर रहेको छ। यस अवधिमा प्रवृत्तिगत रोजगारी ०.१ प्रतिशतले बढेको छ भने कुल कार्यघण्टा स्थिर रहेको छ।
एबीएसका अनुसार वार्षिक आधारमा रोजगारी १.२ प्रतिशत र कुल कार्यघण्टा १.३ प्रतिशतले बढेको छ।
प्रकाशित मिति: २९ आश्विन २०८३, बिहिबार















प्रतिक्रिया