ललितपुर । नेकपा एमालेकी सचिव एवं सांसद पद्मा अर्यालले नेपालको निर्वाचन प्रणाली अझै निष्पक्ष हुन नसकेको बताएकी छन्। उनले आफूले चुनाव लड्दा आफ्नो निर्वाचन क्षेत्रमा बुथ कब्जा र धाँधली भएको प्रमाण आफूसँग सुरक्षित रहेको दाबी गरेकी छन्।

शुक्रबार निर्वाचन आयोगले ललितपुरमा आयोजना गरेको सरोकारवालासँगको छलफलमा बोल्दै अर्यालले आफ्नो निर्वाचन क्षेत्रमा अस्वाभाविक रूपमा ९९ प्रतिशत मत खसेको तर त्यसविरुद्ध कुनै सुनुवाइ नभएको गुनासो गरिन्।

उनले निर्वाचनमा अझै पनि धनबल, बाहुबल र सञ्चारमाध्यमको प्रभाव कायम रहेको आरोप लगाइन्। पैसाको चलखेल र शक्तिको दुरुपयोगले निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठ्ने गरेको उनको भनाइ थियो।

निर्वाचन प्रणाली सुधारका लागि पहिले विद्यमान विकृति र समस्याको पहिचान गर्नुपर्नेमा उनले जोड दिइन्।

यसैगरी, विदेश तथा अन्य जिल्लामा रहेका नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्ने विषयमा उनले समर्थन जनाइन्। तर, अन्तरजिल्ला र अन्तरदेशीय मतदानको व्यवस्था लागू गर्दा कानुनी तथा व्यावहारिक कठिनाइलाई पनि ध्यान दिनुपर्ने उनको सुझाव थियो।

उनका अनुसार एक जिल्लाका मतदाताले अर्को जिल्लाबाट मतदान गर्न पाउने व्यवस्था गर्दा प्रत्येक मतदान केन्द्रमा विभिन्न जिल्लाका छुट्टाछुट्टै मतपेटिका राख्नुपर्ने जटिलता आउन सक्छ।

प्रकाशित मिति: ११ मंसिर २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This
Skip This