काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले ‘इनम प्रकरण’को निष्पक्ष र पारदर्शी छानबिन गर्न माग गर्दै प्रधानमन्त्रीसँग जवाफ मागेका छन्।
इनम सापकोटाकी श्रीमतीले राष्ट्रिय मानवअधिकार आयोगमा दिएको उजुरीलाई उद्धृत गर्दै शर्माले उक्त प्रकरणमा गम्भीर प्रश्न उठाएका हुन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले उजुरीमा उल्लेख भएअनुसार कांग्रेस सभापति गगन थापालगायतका व्यक्तिविरुद्ध बयान दिए रिहा गर्ने, नत्र फसाउने भनिएको विषयको वास्तविकता स्पष्ट पार्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।
उनले मानवअधिकार आयोगमा परेको उजुरी झुटो हो वा राज्यकै आडमा एकपछि अर्को अपराधको योजना बनिरहेको छ भन्दै प्रश्न गरेका छन्।
पारदर्शिता लोकतन्त्रको आधारभूत स्तम्भ भएको उल्लेख गर्दै शर्माले ‘इनम प्रकरण’लाई रहस्यपूर्ण घटनाका रूपमा सीमित नगरी यससँग जोडिएका सबै तथ्य सार्वजनिक गर्नुपर्ने बताए।
यस प्रकरणका कथित षड्यन्त्रका पाटाहरू क्रमशः बाहिरिँदै गएको दाबी गर्दै उनले सत्यतथ्य उजागर गर्न संसद्ले तत्काल पहल गर्नुपर्ने र निष्पक्ष छानबिन सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।
प्रकाशित मिति: १२ मंसिर २०८३, शनिबार













प्रतिक्रिया