कालीकोट । कर्णाली राजमार्गको सडक क्षेत्र अतिक्रमण गरी बनाइएका संरचना तथा राखिएका सामग्री हटाउन सडक डिभिजन कार्यालय जुम्लाले ३० दिनको समयसीमा दिएको छ।
कार्यालयको कार्यक्षेत्रअन्तर्गत पर्ने दैलेखोला–नाग्मा–जुम्ला र नाग्मा–गमगढी सडक खण्डको सीमा क्षेत्रमा अनधिकृत रूपमा निर्माण गरिएका संरचना हटाउन सार्वजनिक सूचना जारी गरिएको हो।
सडक क्षेत्रमा व्यापारिक सामान राख्ने, गाईवस्तु बाँध्ने, बिस्कुन सुकाउने, निर्माण सामग्री थुपार्ने तथा अस्थायी पसल सञ्चालन गर्ने कार्यले सडक आवागमन र सुरक्षामा असर परेको कार्यालयले जनाएको छ। सडक किनारामा बनाइएका टहरा, छाप्रा, घुम्ती तथा बारघेरासमेत हटाउन निर्देशन दिइएको छ।
सडक डिभिजन कार्यालय जुम्लाका निमित्त प्रमुख श्रवणकुमार महताराले ३० दिनभित्र सम्बन्धित व्यक्ति, संस्था वा निकायले आफैँ अतिक्रमण हटाएर सडक क्षेत्र खाली गर्नुपर्ने बताए।
तोकिएको समयभित्र संरचना नहटाए सार्वजनिक सडक ऐन, २०३१ लगायत प्रचलित कानुनअनुसार कार्यालयले आफैँ हटाउने वा भत्काउने उनले चेतावनी दिए। त्यसरी हटाउँदा लाग्ने खर्चसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गरिने कार्यालयले जनाएको छ।
प्रकाशित मिति: १२ मंसिर २०८३, शनिबार













प्रतिक्रिया