काठमाडौं । नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले इनम सापकोटा प्रकरणमा उठेका आरोपहरूको निष्पक्ष छानबिन गर्न तत्काल संसदीय समिति गठन गर्न माग गरेका छन्। हिरासतमा रहेका व्यक्तिलाई दबाब दिएर आफूअनुकूल बयान गराउन खोजिएको र राजनीतिक प्रतिशोधका लागि राज्यशक्तिको दुरुपयोग भएको आरोपप्रति उनले गम्भीर आपत्ति जनाएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै आङ्देम्बेले हिरासतमा रहेका सापकोटाको मोबाइल अनधिकृत व्यक्तिले नियन्त्रणमा लिएको, तयार पारिएको कागज पढ्न दबाब दिएको र नमाने फसाइदिने धम्की दिएको भन्ने विषय सामान्य नभएको बताएका छन्।

सापकोटाले आफ्नी श्रीमतीमार्फत राष्ट्रिय मानवअधिकार आयोगमा दिएको निवेदनमा उल्लेखित विवरणले गम्भीर प्रश्न उठाएको उनको भनाइ छ। अनुसन्धानका नाममा कसैलाई दबाब दिएर इच्छाअनुसारको बयान गराउन खोज्नु विधिको शासन र लोकतान्त्रिक मूल्यविपरीत हुने उनले उल्लेख गरेका छन्।

आङ्देम्बेले सरकार निष्पक्ष अनुसन्धानमा लागेको हो वा कसैलाई नियोजित रूपमा फसाउने प्रयास भइरहेको हो भन्दै प्रधानमन्त्रीसँग जवाफ मागेका छन्। यस्ता गतिविधि भएको पुष्टि भए त्यसले अनुसन्धानकारी निकायको विश्वसनीयता र लोकतान्त्रिक व्यवस्थामाथि नै प्रश्न उठाउने उनको भनाइ छ।

राज्यका संस्थाहरूको विश्वसनीयता र कानुनी शासन सत्ता परिवर्तनभन्दा पनि महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले आरोपको सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्। दोषी देखिने जोसुकैलाई पनि कानुनअनुसार कारबाही हुनुपर्ने उनको धारणा छ।

कांग्रेसले नागरिक स्वतन्त्रता, लोकतन्त्र र विधिको शासनका पक्षमा आफ्नो अडान कायम राखेको बताउँदै आङ्देम्बेले इनम सापकोटा प्रकरणका सबै आरोपको निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्नेमा जोड दिएका छन्।

प्रकाशित मिति: १३ मंसिर २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com