काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले २०४६ सालदेखि सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्न सरकारसँग माग गरेका छन्। अनुसन्धानका क्रममा रोकिएका र थन्किएका सबै फाइलसमेत अघि बढाउनुपर्ने उनको भनाइ छ।
शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा ‘हामी तयार छौँ’ अभियानअन्तर्गत स्थानीय तहका जनप्रतिनिधिका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै थापाले सम्पत्ति छानबिनका लागि कांग्रेस तयार रहेको स्पष्ट पारे।
उनले २०४६ सालदेखि सार्वजनिक ओहोदामा बसेका प्रत्येक व्यक्तिको सम्पत्ति विवरण जाँचबुझ गर्न र यसअघि अनुसन्धानका क्रममा रोकिएका फाइलमाथि समेत निष्पक्ष अनुसन्धान अघि बढाउन सरकारलाई आग्रह गरे।
थापाले यस विषयमा कांग्रेसको धारणा जनतामाझ स्पष्ट रूपमा राख्न स्थानीय तहका जनप्रतिनिधिहरूलाई निर्देशन दिए। अनुसन्धान भने कानुनअनुसार र राज्यका निकायमार्फत निष्पक्ष ढंगले हुनुपर्नेमा उनले जोड दिए।
कांग्रेसका कुनै नेता वा कार्यकर्ताले गलत गरेको भए कानुनबमोजिम कारबाही हुनुपर्नेमा पार्टी स्पष्ट रहेको उनले बताए। तर, राजनीतिक आस्थाका आधारमा निर्दोष व्यक्तिलाई दुःख दिने नियत राखिए स्वीकार्य नहुने उनको भनाइ थियो।
यही मापदण्ड राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत सबै दलका नेता तथा सार्वजनिक पदमा रहेका व्यक्तिका हकमा समान रूपमा लागू हुनुपर्ने थापाले बताए। कुनै नेता वा मन्त्रीमाथि आरोप लाग्दैमा दोषी ठहर गर्न नमिल्ने उल्लेख गर्दै उनले गल्ती गरेको भए जोसुकैलाई पनि कानुनी प्रक्रियाबाट अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउनुपर्ने धारणा राखे।
प्रकाशित मिति: १३ मंसिर २०८३, आइतबार














प्रतिक्रिया