काठमाडौं । बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनकालका प्रभावशाली प्रहरी अधिकारी मोनिरुल इस्लामकी पत्नी र उनका दुई सालालाई हिंसा तथा तोडफोडको योजना बनाएको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
ढाका महानगरीय प्रहरीको गुप्तचर शाखाले आइतबार बिहान राजधानीका मिरपुर डीओएचएस र राकिन सिटी क्षेत्रमा एकैसाथ छापा मारेर इस्लामकी पत्नी सायला फारजाना र उनका दुई भाइमध्ये रेजाउल आलम शाहिनलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार फरार रहेका इस्लामकै निर्देशनमा फारजानाले हिंसा र तोडफोडको योजना बनाउन भूमिका खेलेको आरोप छ। कारबाहीका क्रममा एक सालाकी पत्नीलाई समेत नियन्त्रणमा लिइएको थियो। तर, स्तनपान गराइरहेको शिशु भएकाले उनलाई पछि रिहा गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
फारजाना सार्वजनिक प्रशासन मन्त्रालयकी पूर्वअतिरिक्त सचिव हुन्। उनी बंगलादेश निजामती सेवाको १७औँ समूहकी प्रशासनिक अधिकारी हुन्। सन् २०२४ सेप्टेम्बर ८ मा उनलाई विशेष जिम्मेवारीमा राखिएको थियो।
उनका श्रीमान् इस्लाम पूर्वविशेष शाखा प्रमुख तथा प्रहरीका अतिरिक्त महानिरीक्षक हुन्। सन् २०२४ जुलाईमा भएको जनविद्रोहपछि उनलाई अनिवार्य अवकाश दिइएको थियो। त्यसयता उनी फरार रहँदै आएका छन्।
फरार रहे पनि इस्लामले सामाजिक सञ्जालमार्फत जनविद्रोहको विरोध र हसिनाको समर्थनमा अन्तर्वार्ता दिँदै आएका छन्।
प्रकाशित मिति: १३ मंसिर २०८३, आइतबार













प्रतिक्रिया