काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री तथा कांग्रेस प्रदेश सभापति इन्द्र बानियाँमाथि सरकारले राजनीतिक प्रतिशोध साँध्न खोजेको आरोप लगाएका छन्। राजनीतिक आस्थाका आधारमा छानिछानी अनुसन्धान र कारबाही गर्ने प्रवृत्ति राज्यशक्तिको दुरुपयोग भएको उनको भनाइ छ।

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै पौडेलले हल्ला र आशंकाका आधारमा कसैलाई दोषी ठहर गर्न नमिल्ने बताए।

कानुनभन्दा माथि कोही नरहेको उल्लेख गर्दै उनले अपराधमा संलग्न जोसुकैलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिए। तर सरकारको विरोधी भएकै आधारमा व्यक्तिलाई जबर्जस्ती अनुसन्धानमा तान्ने र निकटस्थलाई संरक्षण गर्ने प्रवृत्ति स्वीकार्य नहुने उनले बताए।

पौडेलले बानियाँमाथिको अनुसन्धानलाई चयनात्मक कारबाहीको उदाहरणका रूपमा प्रस्तुत गरे। प्रधानमन्त्रीको सचिवालय र मुख्य सल्लाहकारसँग जोडिएको सुनकोसी–मरिण डाइभर्सन आयोजनाको ठेक्का अन्त्य प्रकरण तथा हिरासतमा रहेका व्यक्तिको मोबाइल कब्जा गरिएको भनिएको घटनामा सरकारले अनुसन्धान नगरेको उनको आरोप छ।

हिरासतमा रहेका व्यक्तिलाई ज्यान मार्ने धम्की दिँदै आफूअनुकूल बयान दिन दबाब दिइएको घटनाप्रति पनि उनले आपत्ति जनाए। सत्तानिकट व्यक्तिका लागि एउटा र अन्य नागरिकका लागि अर्को कानुन हुन नसक्ने भन्दै उनले प्रधानमन्त्रीसँग जवाफ मागे।

राज्यका अनुसन्धानकारी निकायको व्यावसायिक स्वतन्त्रता सुनिश्चित गर्न, अनुसन्धानमा राजनीतिक हस्तक्षेप रोक्न र दोषी देखिएका सबैलाई कानुनी कारबाहीको दायरामा ल्याउन उनले सरकारसँग माग गरे।

सरकारले संविधान, संसद्, विधिको शासन र राज्यका संस्थामाथिको हस्तक्षेप जारी राखे कांग्रेस मौन नबस्ने चेतावनी पनि पौडेलले दिए।

यसैबीच, कांग्रेसले संसद्लाई छलेर ल्याइएका अध्यादेश फिर्ता लिन र संसद्को अधिवेशन तत्काल आह्वान गर्न सरकारसँग माग गरेको छ। प्रेस स्वतन्त्रता तथा भदौ २३ र २४ का घटनासँग सम्बन्धित संवेदनशील विषयमा पर्याप्त संसदीय छलफल र सार्वजनिक विमर्शबिना अध्यादेश ल्याइएको कांग्रेसको आरोप छ।

सरकारले व्यवस्थापिका, संवैधानिक निकाय तथा राज्यका अन्य अंगमाथि हस्तक्षेप र नियन्त्रणको प्रयास गरेको आरोप लगाउँदै कांग्रेसले संवैधानिक सीमा र संस्थागत मर्यादा पालना गर्न पनि आग्रह गरेको छ।

प्रकाशित मिति: १३ मंसिर २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com