काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङले नेपालको विकास र समृद्धिको अभियान सफल बनाउन स्वदेश तथा विदेशमा रहेका सबै नेपाली एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन्।

प्रवासी नेपाली मञ्च कतारको आठौँ राष्ट्रिय अधिवेशन–२०२६ को उद्घाटन गर्दै नेम्बाङले नेपालको आर्थिक तथा सामाजिक विकासमा प्रवासी नेपालीले महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताए।

उनले मुलुकले सामना गरिरहेका चुनौती समाधान गर्दै विकास र समृद्धिको लक्ष्य हासिल गर्न युवाको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरे। एमालेले पनि राजनीतिक पुनर्संरचनासहित पुनर्जागरणको दिशामा अघि बढ्नुपर्ने उनको धारणा थियो।

कतारसहित विभिन्न मुलुकमा कार्यरत नेपाली श्रमिकले आफ्नो श्रम, सीप र पसिनामार्फत नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरिरहेको नेम्बाङले बताए। विदेशमा रहेर पनि देशको विकास, समृद्धि र राष्ट्रिय हितमा प्रवासी नेपालीले पुर्‍याउँदै आएको योगदान प्रशंसनीय रहेको उनको भनाइ छ।

वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्सले लाखौँ नेपाली परिवारको जीवनस्तर सुधार गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उनले प्रवासी श्रमिकलाई केवल श्रमशक्ति नभई नेपालको आर्थिक विकासका साझेदारका रूपमा हेर्नुपर्ने बताए।

नेम्बाङले विदेशमा कार्यरत नेपाली श्रमिकले भोग्दै आएका समस्या र चुनौती समाधान गर्न राज्य थप गम्भीर र जिम्मेवार बन्नुपर्नेमा जोड दिए। प्रवासी नेपालीको सीप, पुँजी र अनुभवलाई स्वदेशको विकाससँग जोड्ने प्रभावकारी नीति आवश्यक रहेको उनको भनाइ थियो।

प्रकाशित मिति: २३ श्रावण २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com