काठमाडौं । रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले सङ्घीय सरकारले ल्याएका महत्त्वपूर्ण कार्यक्रम लागू गराउन नदिइएको बताएका छन् । रुपन्देहीमा पार्टीको नेतृत्व पदस्थापन तथा पार्टी प्रवेश कार्यक्रममा उनले प्रदेश र स्थानीय तहमा आफ्नो नेतृत्व नहुँदा त्यो समस्या बढी भएको बताएका हुन् ।

‘केन्द्र सरकारले गर्न खोजेको कति कुराहरु रोक्न र अफ्ठयारो पार्न खोजिएको छ, त्यो ग्यास, मल वितरण लगायतमा प्रत्यक्ष देखिएको छ, अन्य विषय पनि कार्यान्वयन गर्न सकिएको छैन’, उनले भने ।

‘रास्वपा स्थापना भएको चार वर्ष भयो । सरकारले सही दिशामा काम गर्छ भन्ने जनतामा विश्वास छ । सरकारले गर्न खोजेका सही कुरा नागरिकमाझ पुर्याउन नसकेका हुन सक्छौँ । चार महिनामा सबै कुरा ठीक नहुन पनि सक्छ । अहिले नै हिम्मत हार्नुभएन । यो समयमा सबैभन्दा बढी विश्वास गर्नुपर्छ’, उनले भने ।

३६ वर्षदेखि बिग्रेको देश बनाउने जिम्मेवारी रास्वपाले पाएको तर, ४ महिनामै त्यो सम्भव नरहेकोले कम्तीमा पाँच वर्ष साथ दिन उनले आग्रह गरे । ‘चाँडो नतिजा दिने हिसाबमा गइयो भने २–४ दिन नतिजा दिइएला । तर, त्यो दिगो हुँदैन । दिगो नतिजा बनाउनका लागि देश बलियो बनाउनुपर्छ । अहिले सरकारले देश बलियो बनाउने दिशामा काम गरिरहेको छ’, उनले भने ।

२०७९ भन्दा अघिका सरकार बन्दा काण्डैकाण्डका समाचार आए पनि पछिल्लो चार महिनामा एउटा पनि काण्डको समाचार नआएको उनको दावी छ ।

उनले नागरिकको विश्वासमाथि कहिल्यै कुठाराघात नगर्ने दाबी गर्दै देश बनाउन समय लाग्ने र त्यो समयमा नागरिकको साथ जरुरी रहेको बताए ।

आचार्यले आफूहरुले गलत गर्दा प्रश्न गर्न आग्रह गरे । ‘हामीले गलत गर्दा प्रश्न गर्न नहिचकिचाउनुहोला । तपाईको प्रश्नले हामीलाई बलियो बनाउँछ’, उनले भने । सरकारलाई आएको प्रश्न खबरदारीको भएको र ठूलो अपेक्षा भएर प्रश्न भएको उनले बताए ।

आगामी प्रदेश र स्थानीय तहको निर्वाचनमा पनि रास्वपालाई साथ दिनसमेत उनले आग्रह गरे । महामन्त्री आचार्यले ४ महिनामा ३६ वर्षको बेथिति सुधार्न जादुको छडी नभएको बताए ।

त्यस्तै रास्वपाका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य सुलभ खरेलले देशमा रहेको बेथिति रोक्न सकिए मात्र देशमा परिवर्तन ल्याउन सकिने बताए ।

उनले आफूहरुले सरकारको विरोध नभइ जनताको समस्याबारे झकझकाइरहेको जनाए । पार्टीको केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य ज्ञानु पौड्यालले रास्वपा नेतृत्वको सरकारसँग जनताको ठूलो अपेक्षा रहेको बताइन् ।

कार्यक्रममा पार्टीको केन्द्रीय सदस्य कल्पना पाण्डे, लुम्बिनी प्रदेश सभापति शालिकराम घिमिरे, प्रतिनिधि सभा सदस्य डा.लेखजंग थापा, तौफिक अहमद खाँ, मन्जु भुसाल, पुनम अग्रवाल, सुशान्त वैदिक, पूर्व प्रदेश कमिटी सल्लाहकार विनोद खरेल, रुपन्देही जिल्ला अध्यक्ष महेन्द्र प्रसाद उपाध्याय, निवर्तमान जिल्ला अध्यक्ष डा.बुद्धि प्रसाद शर्मा, सचिव ज्ञानेन्द्र पाण्डे बुटवल उपमहानगरपालिका सभापति राजेश्वर पाण्डेलगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेका सयौं जनालाई प्रवेश गराइएको थियो ।

प्रकाशित मिति: २३ श्रावण २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com