दाङ । लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त तीन मन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
शपथ लिनेमा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रजित थारू, स्वास्थ्य मन्त्री दीपेन्द्र पुन ‘सिजल’ र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री कृष्णाकुमारी थारू रहेका छन्। तीनै जना नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद हुन्।
नेकपा एमाले र नेकपाबीच गत साउन ९ गते भएको तीनबुँदे सहमतिअनुसार लुम्बिनी प्रदेश सरकार पुनर्गठन गरिएको हो। उक्त सहमतिपछि एमालेबाट मुख्यमन्त्री बनेका चेतनारायण आचार्यले भदौ १ गते प्रदेशसभाबाट विश्वासको मत लिएका थिए।
विश्वासको मत लिएपछि मुख्यमन्त्री आचार्यले नेकपालाई सरकारमा सहभागी गराउँदै मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्। नयाँ सत्ता समीकरणअनुसार नेकपाका तीन मन्त्री थपिएसँगै लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाउने प्रक्रिया अघि बढेको छ।
प्रकाशित मिति: ९ भाद्र २०८३, मंगलबार













प्रतिक्रिया