काठमाडौं। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विपद् व्यवस्थापन, उद्धार, राहत तथा पुनर्निर्माणका लागि उच्च अधिकारसम्पन्न र शक्तिशाली निकाय आवश्यक रहेको बताएका छन्।

अर्थ मन्त्रालयमा आयोजित विपद्बाट भएको आर्थिक क्षति तथा प्रतिकार्य योजनासम्बन्धी छलफलमा बोल्दै मन्त्री लम्सालले विगतको नेपाल पुनर्निर्माण प्राधिकरणजस्तै प्रभावकारी र अधिकारसम्पन्न संरचना आवश्यक रहेको बताएका हुन्।

उनले विपद्का बेला राज्यका सबै तहका संयन्त्र तत्काल र स्वचालित रूपमा सक्रिय हुने व्यवस्था गर्नुपर्नेमा जोड दिए। विपद् आउनासाथ वडा, पालिका, प्रदेश तथा प्रमुख जिल्ला अधिकारीको कार्यालयलगायतका निकाय स्वतः सक्रिय हुनुपर्ने भए पनि व्यवहारमा त्यसो हुन नसकेको भन्दै उनले प्रश्न उठाए।

‘विपद् आउनासाथ वडा, पालिका, प्रदेश र सिडिओ कार्यालयहरू स्वचालित रूपमा एक्टिभेट हुनुपर्ने थियो, तर त्यसो किन भएन ?’ उनले प्रश्न गरे।

राज्यका संयन्त्र तत्काल सक्रिय हुन नसक्नुका पछाडि रहेका कानुनी तथा प्रक्रियागत जटिलता पहिचान गरी तत्काल सुधार गर्नुपर्ने उनको भनाइ छ।

मन्त्री लम्सालले आगामी दिनमा कुनै पनि विपद् आउँदा माथिल्लो निकायको आदेश पर्खिरहनु नपर्ने गरी राज्यका संयन्त्रले स्वतः उद्धार, राहत तथा पुनःस्थापनाको काम अघि बढाउने व्यवस्था गर्न कानुन संशोधनको तयारी भइरहेको जानकारी दिए।

यसका लागि आवश्यक कानुनी तथा संरचनागत सुधारसम्बन्धी योजना तयार गर्ने जिम्मेवारी राष्ट्रिय योजना आयोगलाई दिइएको उनले बताए। तीन दिनभित्र ठोस कार्ययोजना पेस गर्नसमेत निर्देशन दिइएको मन्त्री लम्सालले जानकारी दिए।

प्रकाशित मिति: १५ भाद्र २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com