काठमाडौं। भोटेकोशी विपद्पछि उद्धार, राहत तथा पुनर्निर्माणमा सरकारको भूमिका प्रभावकारी हुन नसकेको नेपाली कांग्रेसले निष्कर्ष निकालेको छ।
कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको उपसमितिले आयोजना गरेको छलफलमा सहभागी प्राविधिक तथा विज्ञहरूले जलविद्युत् सुरुङमा फसेकाहरूको उद्धारमा सरकारको तत्परता कमजोर रहेको बताएका छन्।
उनीहरूले उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग लिन ढिलाइ गरिएको, दक्ष प्राविधिक जनशक्तिको पर्याप्त परिचालन नभएको तथा प्रदेश र स्थानीय सरकारसँग प्रभावकारी समन्वय हुन नसकेको बताएका छन्।
राहत वितरण, पहुँच र सञ्चारबीच समन्वयको अभाव हुँदा प्रभावित नागरिकले अपेक्षित राहत पाउन नसकेको पनि छलफलमा सहभागीहरूले बताएका छन्। उनीहरूले दक्ष जनशक्ति र आधुनिक उपकरण परिचालन गर्दै उद्धार तथा राहत कार्यलाई तीव्रता दिन सरकारलाई सुझाव दिएका छन्।
प्रकाशित मिति: १५ भाद्र २०८३, सोमबार












प्रतिक्रिया