काठमाडौं । राष्ट्रपति र सभामुखकाे निर्वाचनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सर्वदलीय बैठकमा छलफल गर्ने तयारी गरिरहेका बेला सत्ता गठबन्धनकाे सबैभन्दा ठूलाे दल नेकपा एमालेबाट उपसभामुख र उपराष्ट्रपति नेपाली कांग्रेसलाई दिन सकिने स‌ंकेत आएकाे छ ।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले उपराष्ट्रपति र उपसभामुखकाे भागवण्डा बाँकी रहेकाेले यसमा प्रधानमन्त्री दाहालले कांग्रेसलाई राजी गराए नराम्रो नहुने बताएका छन् ।

तर सभामुख र राष्ट्रपति भने प्रचण्डकै प्रस्तावमा एमालेले लिने सहमति यसअघि नै भइसकेकाे उनले प्रष्ट पारेका छन् ।

‘प्रचण्डको प्रस्तावमा राष्ट्रपति र सभामुख एमालेलाई अनि प्रधानमन्त्री माओवादीलाई भनेर बाँडफाँट पहिल्यै टुंगिसकेको छ । अहिले कांग्रेसलाई पनि समेटेर लैजाने प्रधानमन्त्रीकाे प्रस्तावलाई अन्यथा लिइहाल्नु पर्दैन’, रिजालले ट्वीटरमा लेखेका छन्, ‘किनभने, उपराष्ट्रपति र उपसभामुख बाँकी छ । कांग्रेसलाई राजी गराउनुभयो भने नराम्रो के छ र ?’

प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेसले पनि विश्वासकाे मत दिएकाे थियाे । सभामुख र राष्ट्रपतिकाे निर्वाचन हेरेर प्रधानमन्त्रीलाई विश्वासकाे मत दिएकाे कांग्रेसका नेताहरूले बताउँदै आएका छन् । प्रधानमन्त्री दाहालले झण्डै सिंगै सदनकाे विश्वास पाएपछि राष्ट्रिय सहमति गरेर अघि बढ्नुपर्ने बताउँदै आएका छन् ।

 

प्रकाशित मिति: ३ माघ २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com