सुर्खेत । रोजगारीका लागि भारतको उत्तराखण्डस्थित अलमोडा पुगेका कालिकोटका दुई युवकको घर भत्किएर पुरिँदा मृत्यु भएको छ।
मृत्यु हुनेमा कालिकोटको नरहरिनाथ गाउँपालिका–९ का ३५ वर्षीय चक्र दर्जी र ३४ वर्षीय डिल्ली दर्जी रहेका छन्।
वडाध्यक्ष प्रदीप बोहोराका अनुसार गएराति भएको अविरल वर्षाका कारण उनीहरू बस्दै आएको कच्ची घर भत्किँदा दुवै जना पुरिएका थिए। सुतिरहेको अवस्थामा घर भत्किएपछि उनीहरूले घटनास्थलमै ज्यान गुमाएका हुन्।
‘उहाँहरू बस्ने घर कच्ची रहेछ। राति सुतिरहेको समयमा घर भत्किएर पुरिँदा मृत्यु भएछ,’ वडाध्यक्ष बोहोराले भने।
चक्र दर्जीका श्रीमती र तीन छोरा छन् भने डिल्लीका श्रीमतीसहित एक छोरा र दुई छोरी छन्। परिवारको आर्थिक अवस्था सुधार्दै छोराछोरीको भविष्य सुरक्षित बनाउने उद्देश्यले उनीहरू रोजगारीका लागि भारत पुगेका थिए।
वडाध्यक्ष बोहोराका अनुसार दुवै परिवारको आर्थिक अवस्था निकै कमजोर छ। मृतकका सबै बालबालिका १६ वर्षभन्दा कम उमेरका रहेको उनले बताए।
‘उहाँहरूको आर्थिक अवस्था निकै कमजोर छ। बालबालिका सबै १६ वर्षभन्दा मुनिका छन्, अहिले परिवारको अवस्था निकै दयनीय बनेको छ,’ उनले भने।
मृतक दुवैको शव नेपाल ल्याएर अन्त्येष्टि गर्ने परिवारको इच्छा रहेको छ। शव नेपाल ल्याउन आवश्यक पहलका लागि वडा कार्यालय र गाउँपालिकाले सम्बन्धित निकायसँग समन्वय गरिरहेको वडाध्यक्ष बोहोराले जानकारी दिए।
प्रकाशित मिति: १६ भाद्र २०८३, मंगलबार












प्रतिक्रिया