काठमाडौं। कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुख इन्जिनियर दिपा कार्की ६४ हजार रुपैयाँ घुससहित पक्राउ परेकी छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले इन्जिनियर कार्कीलाई सेवाग्राहीबाट घुस रकम लिइसकेको अवस्थामा मध्यस्थकर्ताको भूमिकामा रहेकी आस्मा कार्कीसहित नियन्त्रणमा लिएको हो।
अख्तियारका अनुसार ‘स्ट्रक्चर एनालाइसिस’सम्बन्धी काम स्वीकृत गरिदिने भन्दै इन्जिनियर कार्कीले सेवाग्राहीसँग रकम माग गरेकी थिइन्। कामका लागि पटक–पटक बार्गेनिङ गर्दै सेवाग्राहीलाई दुःख दिएको भन्ने सूचना तथा उजुरीका आधारमा अख्तियारले अनुसन्धान अघि बढाएको थियो।
अख्तियारको केन्द्रीय कार्यालय टङ्गालबाट खटिएको टोलीले सोमबार कागेश्वरी मनोहरा नगरपालिका कार्यालय, थली–डाँछीबाट दुवै जनालाई ६४ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेका दुवै जनाविरुद्ध मंगलबार विशेष अदालतबाट म्याद थप अनुमति लिएर घुस तथा रिसवतसम्बन्धी भ्रष्टाचार कसुरमा थप अनुसन्धान अघि बढाइएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।
प्रकाशित मिति: १६ भाद्र २०८३, मंगलबार











प्रतिक्रिया