नुवाकोट । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीले नुवाकोटको शैक्षिक क्षेत्रसमेत गम्भीर रूपमा प्रभावित बनेको छ। बाढीबाट प्रभावित क्षेत्रमा रहेका विद्यालयहरू अनिश्चितकालका लागि बन्द गरिएका छन्।

बाढीको सबैभन्दा बढी असर परेको विदुर नगरपालिकाका सबै विद्यालय बन्द छन्। त्यस्तै, किस्पाङ गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालय पनि हाल सञ्चालनमा छैनन्। बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिकाले समेत प्रभावित क्षेत्रका शैक्षिक संस्था तत्काल सञ्चालन गर्न नसकिने बताएका छन्।

बाढीका कारण विद्यार्थी, शिक्षक तथा अभिभावकसमेत प्रभावित र विस्थापित हुनुका साथै विद्यालय भवन, सडक र पुलमा व्यापक क्षति पुगेकाले पठनपाठन सञ्चालन गर्न सक्ने अवस्था नरहेको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले बताए।

उनका अनुसार जनजीवन सामान्य बन्दै गएर सडक तथा नदी वारपार गर्ने अवस्था सहज भएपछि मात्रै विद्यालय सञ्चालनबारे निर्णय गरिनेछ।

विदुर नगरपालिकाका शिक्षा शाखा प्रमुख नवराज सापकोटाले बाढी आउन सक्ने पूर्वसूचना भए पनि यसको प्रभाव यति भयावह हुने अनुमान गर्न नसकिएको बताए। केही विद्यालयले समयमै सतर्कता अपनाएका कारण सम्भावित ठूलो मानवीय क्षति टरेको उनको भनाइ छ।

‘अहिले जनजीवन पूर्ण रूपमा असामान्य बनेको छ। केही समयपछि परिस्थिति हेरेर वैकल्पिक माध्यमबाट पठनपाठन सञ्चालन गर्ने योजना बनाउँछौँ,’ उनले भने।

त्रिशूली नदीको बाढीबाट सबैभन्दा बढी प्रभावित विदुर नगरपालिकाभित्र सञ्चालित ८३ विद्यालयमध्ये करिब एक दर्जन विद्यालय प्रत्यक्ष प्रभावित भएका छन्। नगरपालिकाको प्रारम्भिक तथ्याङ्कअनुसार चार विद्यालयको भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

शिक्षा विकास तथा समन्वय एकाइ नुवाकोटले संकलन गरेको प्रारम्भिक विवरणअनुसार त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय, रामचन्द्र आधारभूत विद्यालय, चेतना आधारभूत विद्यालय र त्रिशूली सामुदायिक बोर्डिङ स्कुलको सम्पूर्ण संरचनामा क्षति पुगेको छ। ती विद्यालय तत्काल सञ्चालन गर्न नसकिने अवस्थामा पुगेका छन्।

त्यस्तै, उत्तरगया इङ्लिस बोर्डिङ स्कुलका तीनवटा भवन ब्लक र छात्रावास पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने एउटा ब्लकमात्र बाँकी रहेको जनाइएको छ।

चण्डेश्वरी माध्यमिक विद्यालयको दृष्टिविहीन विद्यार्थी बस्ने छात्रावासमा समेत क्षति पुगेको छ। शहीद जगतप्रकाशजङ्ग शाह संस्कृत माध्यमिक विद्यालय र पायोनियर इङ्लिस बोर्डिङको घेराबार तथा आसपासका संरचनामा क्षति पुग्दा पठनपाठन सञ्चालनमा समस्या देखिएको छ।

बाढीले रामचन्द्र आधारभूत विद्यालयको एउटा र उत्तरगया इङ्लिस बोर्डिङका दुईवटा विद्यालय बससमेत बगाएको छ।

यता, किस्पाङ गाउँपालिकामा विद्यालय भवनमा प्रत्यक्ष क्षति नपुगे पनि बाढीपीडित तथा विस्थापित नागरिकलाई आश्रय दिन दुई विद्यालयमा होल्डिङ सेन्टर सञ्चालन गरिएको छ।

बेलकोटगढी नगरपालिकामा पनि एउटा विद्यालयलाई अस्थायी होल्डिङ सेन्टरका रूपमा प्रयोग गरिएको छ। बेलकोटगढी–७ स्थित शिलादेवी माध्यमिक विद्यालय बाढीबाट प्रत्यक्ष प्रभावित भएको छ भने वडा नम्बर ५ स्थित महादेव माध्यमिक विद्यालय पनि प्रभावित बनेको छ।

विनाशकारी बाढीपछि नुवाकोटका विभिन्न स्थानीय तहमा जनजीवन सामान्य बन्न नसक्दा विद्यालय सञ्चालन कहिलेदेखि हुने भन्ने अझै टुंगो लाग्न सकेको छैन।

प्रकाशित मिति: १७ भाद्र २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com