काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले विनाशकारी रसुवा–भोटेकोशी बाढीपछि पनि दर्जनौँ मानिस उद्धारको प्रतीक्षामा रहेको बताएका छन्।
रसुवा बाढीले पर्यटन क्षेत्रमा पारेको असरबारे संसदीय समितिमा भएको छलफलमा बोल्दै सांसद खरेलले विशेषगरी सुरुङ तथा दुर्गम क्षेत्रमा फसेकाहरूको उद्धारलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका हुन्।
उनले विपद्को भयावह अवस्था अझै समाप्त नभएको उल्लेख गर्दै थुप्रै मानिस जीवन र मृत्युको दोसाँधमा उद्धारको आशा लिएर बसिरहेको बताए।
‘अहिले पनि दर्जनौँ मानिस कतै न कतै जीवनको आशामा उद्धारको पर्खाइमा छन्,’ उनले भने, ‘हजारभन्दा बढी शव फेला परेका छन्, जसमध्ये धेरैको पहिचान हुन बाँकी छ। करिब चार हजार मानिस बेपत्ता रहेको अवस्था छ। यद्यपि सरकारको नेतृत्वमा १२ हजारभन्दा बढीको उद्धार गर्न सफल भएका छौँ।’
सांसद खरेलले यो विपद् अकल्पनीय र अप्रत्याशित प्रकृतिको भएको उल्लेख गर्दै नेपालले अब अन्तर्राष्ट्रिय समुदायसँग सामान्य राहत वा दयाका रूपमा प्राप्त हुने सहयोगमा मात्र निर्भर हुन नहुने धारणा राखे।
उनले विकसित राष्ट्रहरूले केही लाख डलर सहयोग गरेर आफ्नो जिम्मेवारी पूरा भएको ठान्ने प्रवृत्तिले नेपालजस्ता जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगिरहेका मुलुकको समस्या समाधान नहुने बताए।
‘नेपाललाई दयाका रूपमा दिइने सहयोग मात्र होइन, अधिकारका रूपमा क्षतिपूर्ति चाहिन्छ,’ उनले भने, ‘जलवायु परिवर्तनको असरको पीडित हामी भइरहेका छौँ। आगामी दिनमा यस्ता जोखिम झन् बढ्नेछन्। भोटेकोशीको बाढी त सम्भावित ठूलो संकटको सुरुवाती चेतावनी मात्रै हो।’
नेपालले जलवायु परिवर्तनबाट भएको क्षतिको उचित क्षतिपूर्ति र जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चमा सशक्त आवाज उठाउनुपर्नेमा उनले जोड दिए।
सांसद खरेलले सरकार, निजी क्षेत्र तथा समग्र नेपाली समाज एकजुट भएर जलवायु परिवर्तनबाट प्रभावित राष्ट्रको अधिकार सुनिश्चित गर्न विश्व समुदायसँग संगठित रूपमा आवाज उठाउनुपर्ने बताए।
‘अब नेपालले राहतको अपेक्षा मात्र गर्ने होइन, आफ्नो अधिकारका लागि विश्वमञ्चमा दृढतापूर्वक लड्नुपर्छ,’ उनले भने।
प्रकाशित मिति: १७ भाद्र २०८३, बुधबार











प्रतिक्रिया