पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्दै नेपाल समाजवादी पार्टी (नेसपा) का सांसद फणिन्द्र देवकोटालाई मन्त्री नियुक्त गरेका छन्। साथै, सरकारमा रहेका एक मन्त्रीको मन्त्रालयीय जिम्मेवारी पनि हेरफेर गरिएको छ।
मुख्यमन्त्री पाण्डेको सिफारिसमा प्रदेश प्रमुखले देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त गरेका हुन्। नवनियुक्त मन्त्री देवकोटाले पद तथा गोपनीयताको शपथसमेत ग्रहण गरिसकेका छन्।
यसअघि ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय सम्हाल्दै आएका नन्दप्रसाद न्यौपानेको जिम्मेवारी भने परिवर्तन गरिएको छ। मुख्यमन्त्रीको सचिवालयका अनुसार अब न्यौपानेलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयसँगै स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ।
नवनियुक्त मन्त्री देवकोटा गोरखा जिल्लाबाट नेकपा माओवादी केन्द्रको चुनाव चिह्नमा प्रदेशसभा सदस्य निर्वाचित भएका हुन्। त्यस्तै, मन्त्रालयीय जिम्मेवारी हेरफेर भएका न्यौपाने पनि गोरखाबाट निर्वाचित नेपाली कांग्रेसका सांसद हुन्।
नेकपा एमाले सरकारबाट बाहिरिएपछि गण्डकी प्रदेश सरकारका चार मन्त्रालय लामो समयदेखि रिक्त रहेका थिए। ती मन्त्रालयमा जिम्मेवारी बाँडफाँट गर्दै सरकारलाई पूर्णता दिने उद्देश्यले मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद् विस्तारको प्रक्रिया अघि बढाएका हुन्।
सत्ता साझेदार दल तथा सरकारलाई समर्थन गर्ने सांसदहरूको सहभागिता सुनिश्चित गर्दै बहुमत कायम राख्ने र प्रदेश सरकारलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यसहित मन्त्रिपरिषद् विस्तार गरिएको मुख्यमन्त्री निकट स्रोतले जनाएको छ।
प्रकाशित मिति: १७ भाद्र २०८३, बुधबार











प्रतिक्रिया