काठमाडौं। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य तीव्र पारिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबार साँझसम्म ११ हजार ९९३ जनाको सकुशल उद्धार गरिएको छ भने चार हजार २१६ जना अझै सम्पर्कविहीन छन्। बाढीका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार २०४ पुगेको छ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार खोज तथा उद्धारका लागि तीनवटै सुरक्षा निकायका गरी कुल २१ हजार ३१४ सुरक्षाकर्मी मैदानमा खटिएका छन्।

जसमध्ये नेपाली सेनाका नौ हजार १९९, नेपाल प्रहरीका सात हजार ९१२ र सशस्त्र प्रहरी बलका चार हजार २०३ जना जनशक्ति परिचालन गरिएको छ। सडक तथा भौतिक संरचना क्षतिग्रस्त भएकाले नदी किनार, पहिरोग्रस्त क्षेत्र र बाढी प्रभावित बस्तीहरूमा उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको छ।

बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, तनहुँ र चितवनलगायतका जिल्लाहरू बढी प्रभावित भएका छन्।

हालसम्म चितवनमा ३४८, नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा २०२, नुवाकोटमा १५५, रसुवामा ११५, गोरखामा ६९, धादिङमा ६० र तनहुँमा ३८ जनाको शव फेला परेको छ।

सडक सम्पर्क विच्छेद भएका र दुर्गम क्षेत्रमा नेपाली सेनाले हवाई उद्धारलाई प्राथमिकता दिएको छ। सेनाले ६९० पटक हवाई उडान गरी चार हजार ९१ नेपाली र २७३ विदेशी नागरिकको उद्धार गरिसकेको छ, जसमध्ये बुधबार मात्रै ८० वटा उडान भएका थिए। यसका साथै निजी क्षेत्रबाट पनि २९ वटा उडानमार्फत उद्धार र राहत सामग्री वितरणमा सहयोग पुर्‍याइएको छ।

बाढीका कारण सुरक्षा निकायका अधिकारीसहित ठूलो सङ्ख्यामा नागरिकहरू बेपत्ता छन्। प्राधिकरणका अनुसार नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरीका १३ जना सम्पर्कविहीन छन्।

यस्तै नुवाकोटबाट एक हजार ५५८, रसुवाबाट करिब ८६५, जलविद्युत् आयोजनामा कार्यरत करिब ९००, विदेशी नागरिक ५८३, भन्सार कार्यालयका १४, अध्यागमनका तीन, पर्यटन क्षेत्रमा गएका १६४ नेपाली, जनप्रतिनिधि सात तथा अन्य स्थानीय कर्मचारीहरू अझै बेपत्ता छन्।

राज्यका सबै सुरक्षा निकाय, स्थानीय तह र सरोकारवाला निकायहरू राहत, स्वास्थ्य सेवा र अत्यावश्यक सामग्री पठाउन निरन्तर सक्रिय छन्। ठूलो संख्यामा मानिसहरू बेपत्ता रहेकाले खोजी कार्यलाई थप तीव्र र प्रभावकारी बनाइएको प्राधिकरणले जनाएको छ।

प्रकाशित मिति: १८ भाद्र २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com