काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङबीच बाढीपहिरो प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुनर्स्थापनासहित जलविद्युत् आयोजनाका सुरुङमा फसेका नागरिकको उद्धारबारे छलफल भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार भएको भेटमा घिसिङले बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका क्रममा देखिएका समस्या, तत्कालीन आवश्यकता र आगामी रणनीतिबारे प्रधानमन्त्री शाहलाई जानकारी गराएका हुन्।
घिसिङ नेतृत्वको टोलीले विपद्पछि गर्नुपर्ने खोज तथा उद्धार, राहत वितरण र पुनर्स्थापनाका लागि सरकारलाई तत्काल र दीर्घकालीन रूपमा चाल्नुपर्ने कदमबारे मौखिक तथा लिखित सुझावसमेत दिएको जनाएको छ।
भेटमा जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका नागरिकको उद्धारको विषयलाई विशेष प्राथमिकताका साथ उठाइएको थियो। प्रधानमन्त्री शाहले सुरुङभित्रको जटिल अवस्थाबारे जानकारी लिँदै फसेका नागरिकलाई छिटो र सुरक्षित रूपमा बाहिर निकाल्ने उपायबारे चासो राखेका थिए।
घिसिङले आफ्नो अनुभव तथा प्राविधिक अध्ययनका आधारमा सुरुङभित्रको अवस्था र उद्धारमा देखिन सक्ने प्राविधिक चुनौतीबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।
भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै घिसिङले प्रधानमन्त्री शाहले उद्धारका लागि आवश्यक सबै स्रोतसाधन परिचालन गर्ने प्रतिबद्धता जनाएको बताए।
उनका अनुसार प्रधानमन्त्रीले सुरुङमा फसेका नागरिकको उद्धारमा स्वदेशी प्रविधि र जनशक्तिको अधिकतम प्रयोग गर्ने तथा आवश्यकता परे विदेशी विज्ञ र प्राविधिकलाई समेत तत्काल नेपाल बोलाएर उद्धार कार्य अघि बढाउने बताएका छन्।
प्रधानमन्त्री शाहले विपद् प्रभावित क्षेत्रमा उद्धार तथा राहतसँगै दीर्घकालीन पुनर्स्थापनाका कामलाई समेत प्रभावकारी ढंगले अघि बढाउने विषयमा चासो देखाएको घिसिङले बताए।
प्रकाशित मिति: १८ भाद्र २०८३, बिहिबार












प्रतिक्रिया