काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजबीच शुक्रबार टेलिफोन वार्ता भएको छ।
बिहान भएको संवादमा नेपालमा पछिल्लो समय देखिएको विपद्को अवस्था, उद्धार तथा राहत कार्य र नेपाल–अष्ट्रेलिया सहकार्यका विषयमा छलफल भएको हो।
प्रधानमन्त्री शाहले भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधन तथा भौतिक क्षतिप्रति अष्ट्रेलिया सरकार र त्यहाँका नागरिकले व्यक्त गरेको ऐक्यबद्धताप्रति धन्यवाद व्यक्त गरे।
उनले विपद्को सामना गर्न अष्ट्रेलियाले नेपाल पठाएको विशेषज्ञ ड्रोन अपरेटरको टोली, उपलब्ध गराएको अत्यावश्यक राहत सामग्री तथा आर्थिक सहयोगप्रति विशेष आभार प्रकट गरे।
वार्ताका क्रममा प्रधानमन्त्री शाहले बाढीपछि नेपालमा बेपत्ता भएका अष्ट्रेलियाली नागरिकको खोजी कार्यलाई तीव्र पारिएको जानकारीसमेत अष्ट्रेलियाली समकक्षीलाई दिए।
नेपाल र अष्ट्रेलियाबीच लामो समयदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्धलाई स्मरण गर्दै शाहले विपद्को यस कठिन अवस्थामा खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका क्षेत्रमा अष्ट्रेलियासँग निरन्तर समन्वय र सहकार्य गरिने बताए।
वार्तामा अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजले नेपालमा आएको बाढी तथा विपद्बाट उत्पन्न कठिन परिस्थितिप्रति गहिरो चासो र चिन्ता व्यक्त गरेका थिए।
दुवै प्रधानमन्त्रीबीच विपद् व्यवस्थापन तथा मानवीय सहयोगका क्षेत्रमा आपसी सहकार्यलाई निरन्तरता दिने विषयमा समेत छलफल भएको जनाइएको छ।
प्रकाशित मिति: १९ भाद्र २०८३, शुक्रबार












प्रतिक्रिया