रसुवा। रसुवास्थित २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा सम्भावित सबै ठाउँमा खोजी गर्दा थप व्यक्ति नभेटिएपछि नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली फर्किएको छ।
सशस्त्र प्रहरी बलका प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार सुरुङभित्र सम्भावित सबै क्षेत्रमा टोली परिचालन गरी खोजी गर्दा थप व्यक्ति फेला नपरेपछि उद्धार टोली फर्किएको हो। यसअघि बिहीबार आयोजनाको सुरुङभित्रबाट दुई जनाको शव फेला परेको थियो।
आयोजनाका प्रवर्धक विजयमोहन भट्टराईका अनुसार बाढीले विद्युत् गृह (पावर हाउस), कामदार बस्ने क्याम्पसहित सतहमा रहेका आयोजनाका सम्पूर्ण भौतिक संरचना पूर्ण रूपमा बगाएको छ।
उनका अनुसार बाढी आउनुभन्दा करिब २–३ मिनेटअघि विद्युत् आपूर्ति बन्द भएकाले सुरुङभित्र कार्यरत कामदारहरू समयमै बाहिर निस्कन सफल भएको हुनसक्ने अनुमान गरिएको छ।
बाढी आएलगत्तै प्रारम्भिक चरणमा १९ जनाको सकुशल उद्धार गरिएको थियो। हालसम्म दुई जनाको शव फेला परेको छ भने ३९ जना कर्मचारी तथा कामदार अझै सम्पर्कविहीन छन्।
बुधबारदेखि नेपाली सेना, सशस्त्र प्रहरी बल र आयोजनाका प्राविधिकसहित ३३ जनाको टोली सुरुङभित्र खोजी तथा उद्धार कार्यमा निरन्तर खटिएको थियो। सम्भावित सबै क्षेत्रमा खोजी गर्दा पनि थप व्यक्ति नभेटिएपछि टोली फर्किएको हो।
प्रकाशित मिति: १९ भाद्र २०८३, शुक्रबार












प्रतिक्रिया