काठमाडौं। नुवाकोटको बेत्रावतीमा भदौ १० गतेको बाढीले घरसहित बगाएकी चन्डिका श्रेष्ठको ११ दिनपछि जीवितै उद्धार गरिएको छ।
स्थानीयका अनुसार बाढीले चन्डिकाको घर बगाएर आफूहरूको घर रहेको स्थानबाट करिब ५० मिटर पर पुर्याएको थियो। शनिबार उक्त संरचनाभित्रबाट मान्छेको आवाज आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
विदुर नगरपालिका–१० का वडा सदस्य मंगल तामाङका अनुसार बगरमा आवतजावत र सडक खन्ने काम भइरहेका बेला घरभित्रबाट आवाज सुनिएको थियो। त्यसपछि प्रहरीले खोजी गर्दा चन्डिका जीवित अवस्थामा फेला परेकी हुन्।
उद्धारपछि उनलाई उपचारका लागि काठमाडौंस्थित छाउनी अस्पताल ल्याइएको छ। उनका श्रीमान् भने अझै सम्पर्कविहीन छन्।
बाढी आएको ११ दिनपछि चन्डिकाको जीवित उद्धार भएपछि बाढीले बगाएका तथा पुरिएका अन्य घरका संरचनामा समेत मानिस फसेको हुनसक्ने आशंका बढेको छ।
रसुवागढीदेखि धादिङको गलौंदी क्षेत्रसम्म बाढीले ठूलो क्षति पुर्याएको छ। कतिपय घर पुरिएका छन् भने कतिपय संरचना बाढीले पल्टाएको छ। ती संरचनामा समेत मानिस फसेको हुनसक्ने भन्दै प्रभावित क्षेत्रमा खोज तथा उद्धार जारी रहेको गृहमन्त्री सुधन गुरुङले बताएका छन्।
यसअघि शनिबार नै अपर त्रिशूली–१ बाट एक चिनियाँ नागरिकको तथा शुक्रबार त्रिशूली–३ ‘ए’ को सुरुङबाट दुई जनाको जीवित उद्धार गरिएको थियो।
प्रकाशित मिति: २० भाद्र २०८३, शनिबार












प्रतिक्रिया