काठमाडौं। विशेष महाधिवेशनपछि नेपाली कांग्रेसको आन्तरिक राजनीति थप पेचिलो बनेका बेला सभापति गगन थापाले इतर पक्षका प्रभावशाली नेताहरूसँग संवाद तीव्र पारेका छन्।

१५औँ महाधिवेशनको वैधानिकता, क्रियाशील सदस्यता अद्यावधिक र महाधिवेशनको कार्यतालिकालाई लिएर पार्टीभित्र विवाद चर्किरहेका बेला थापाले इतर समूहका शीर्ष नेतासँग ‘वान टु वान’ छलफल अघि बढाएका हुन्।

भदौ २४ गतेका लागि वडा अधिवेशनको मिति तय भइसकेको अवस्थामा शनिबार साँझ थापा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच लामो छलफल भएको छ। भेटमा खड्काले १४औँ महाधिवेशनका संरचना, समावेशी सन्तुलन र क्रियाशील सदस्यता अद्यावधिकका विषयमा राखेका असन्तुष्टि र मागबारे छलफल भएको बताइएको छ।

यसैबीच, थापाले आइतबार इतर पक्षका अर्का प्रभावशाली नेता डा. शेखर कोइरालासँग पनि छलफल गर्ने भएका छन्। कोइरालाले सबै पक्षलाई समेटेर मात्र महाधिवेशनमा जानुपर्ने र विशेष महाधिवेशनको आधारमा एकपक्षीय रूपमा सदस्यता अद्यावधिक गर्न नहुने अडान राख्दै आएका छन्।

सहमति खोज्दै थापा कि इतर पक्षमा विभाजन ल्याउने रणनीति?

कांग्रेसको इतर पक्षले डा. शशांक कोइरालाको नेतृत्वमा १५औँ महाधिवेशनको समानान्तर तयारी अघि बढाइरहेका बेला सभापति थापाले खड्का र शेखर कोइरालाजस्ता प्रभावशाली नेतासँग छुट्टाछुट्टै संवाद थालेका हुन्।

पार्टीभित्र थापाको पहललाई एकातिर विवाद समाधान र सहमतिको प्रयासका रूपमा हेरिएको छ भने अर्कोतिर इतर पक्षको एकीकृत दबाब कमजोर बनाउने रणनीतिका रूपमा पनि व्याख्या हुन थालेको छ।

देउवा र पूर्णबहादुर खड्का पक्षको समर्थनमा डा. शशांक कोइरालालाई इतर पक्षको १५औँ महाधिवेशन तयारी समितिको संयोजक बनाएर अघि बढाउने प्रयास भइरहेका बेला थापाले असन्तुष्ट नेताहरूलाई संवादमा ल्याएपछि इतर समूहको रणनीतिमा समेत दबाब परेको देखिन्छ।

थापाले इतर पक्षका केही मागमा लचकता देखाएर सहमतिको वातावरण बनाउन सके समानान्तर गतिविधि र कानुनी चुनौती कमजोर पार्न सकिने संस्थापन पक्षको आकलन रहेको कांग्रेस वृत्तमा चर्चा छ।

‘कांग्रेस विभाजनको दिशामा छैन’

कांग्रेस प्रवक्ता देवराज चालिसेले भने पार्टी विभाजनको दिशामा नगएको र अहिलेको अवस्था आन्तरिक मतभेदमा सीमित रहेको बताएका छन्।

“विवाद समाधान गर्ने मुख्य जिम्मेवारी र अभिभावकीय भूमिका पार्टी सभापतिकै हो,” चालिसेले भने, “अहिले कांग्रेस विभाजित भइसकेको छैन, केही विषयमा मतभेद मात्रै हो।”

उनका अनुसार सभापति थापा स्वयं विवाद समाधानका लागि अग्रसर भएकाले शीर्ष नेताबीचको संवादले पार्टीलाई एकढिक्का बनाउने वातावरण तयार गर्न सक्छ।

शीर्ष तहमा सहमति जुटेमा भदौ २४ गतेबाट सुरु हुने भनिएको वडा अधिवेशनको कार्यतालिका केही समय पछाडि सार्नसमेत संस्थापन पक्ष तयार हुन सक्ने उनले संकेत गरेका छन्।

महाधिवेशनसँगै अदालतको बाटो पनि खुला

कांग्रेसभित्रको विवादको अर्को महत्वपूर्ण पक्ष कानुनी लडाइँ हो। देउवा र खड्का पक्षले विशेष महाधिवेशनको आधिकारिकता तथा नयाँ महाधिवेशनको कार्यतालिकालाई चुनौती दिँदै सर्वोच्च अदालतमा पूरक रिट दायर गरिसकेका छन्। उक्त रिटको सुनुवाइ भदौ २५ गतेका लागि तोकिएको छ।

एकातिर अदालतमा कानुनी लडाइँ र अर्कोतिर पार्टीभित्र समानान्तर गतिविधि चलिरहेका बेला सभापति थापाले थालेको संवादले कांग्रेसको आगामी राजनीतिक दिशा निर्धारण गर्ने देखिन्छ।

अब शेखर कोइरालासँगको भेट र त्यसपछि हुने सहमति वा असहमतिले थापाको संवाद रणनीति पार्टी एकता बलियो बनाउने पहल हो कि इतर पक्षको दबाब कमजोर पार्ने राजनीतिक चाल, भन्ने चित्र थप स्पष्ट पार्नेछ।

प्रकाशित मिति: २१ भाद्र २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com