काठमाडौं । युवा अभियन्ता तथा ग्लोबल युथ पार्लियामेन्टका अध्यक्ष दिवाकर अर्याल उज्यालो नेपाल पार्टीको महासचिवमा नियुक्त भएका छन् ।
अर्याललाई आइतबार बसेको पार्टीको सचिवालयको पूर्ण बैठकले महासचिव पदमा नियुक्त गरेको हो । उनलाई पार्टी अध्यक्ष कुलमान घिसिङले काठमाडौँमा सोमबार आयोजित एक कार्यक्रममा पार्टीमा औपचारिक प्रवेश गराएका हुन् ।
उनीसँगै कैलाश श्रेष्ठ, सुशील कार्की, कृष्ण रेउले, कालीप्रसाद चटौत, विष्णु पराजुली र दुर्गा अर्याल केन्द्रीय सदस्यका रुपमा पार्टी प्रवेश गरेका छन् । कार्यक्रममा पार्टी अध्यक्ष कुलमान घिसिङले नवप्रवेशी युवा साथीहरुको साथ, सहयोग र योगदानले पार्टीलाई नयाँ उचाइना पुर्याउने दाबी गरे ।
घिसिङले युवा साथीहरुको अनुभव र क्षमताका हिसाबले नयाँ तथा महत्त्वपूर्ण जिम्मेवारी दिने निर्णय गरिएको बताए । आगामी दिनमा पनि देश निर्माणका लागि जागरुक अरु युवाहरूसँग पनि सहकार्य गर्न उज्यालो नेपाल पार्टी त्यार रहेको उनको भनाइ छ । देशमा व्याप्त हरेक क्षेत्रको अध्यारो हटाएर उज्यालो ल्याउनका लागि अब आफुहरुले नेतृत्व लिने घिसिङको दाबी छ । ‘देश विकासका लागि इच्छाशक्ति, अनुभव र विज्ञताको मिश्रण आवश्यक छ,’ घिसिङले भने, ‘त्यसका लागि उज्यालो नेपाल पार्टीको विकल्प छैन ।’
विद्युत खपत बढाउनुको साटो बिजुलीमा भ्याट र कर लगाउने, विद्युतीय गाडीहरूमा कर बढाउने र ग्यासमा लाइन लगाउने उल्टो नीतिले देश विकास नहुने उनको भनाइ छ । उज्यालो नेपाल पार्टी कुनै वादमा भन्दा जनतालाइ डेलिभरी दिने कुरालाई प्राथमिकतामा राखेको उनको दाबी छ ।
नवनियुक्त महासचिव दिवाकर अर्यालले उज्यालो नेपाल पार्टी नेतृत्वमा विभिन्न विषयका विज्ञहरूसगै अनुभवी र खारिएका युवाहरु पनि जोडिएकाले देश विकासका लागि उत्तम विकल्प भएको दाबी गरे ।
को हुन् अर्याल ?
युवा अभियानबाट सामाजिक तथा सार्वजनिक क्षेत्रमा लामो समयदेखि सक्रिय अर्याल अब औपचारिक रूपमा दलगत राजनीतिमा महत्वपूर्ण जिम्मेवारीसहित प्रवेश गरेका हुन् । उज्यालो नेपाल पार्टीले सुशासन, प्रणालीगत सुधार, भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र नागरिककेन्द्रित सेवाप्रवाहलाई आफ्नो राजनीतिक एजेन्डाका रूपमा अघि सारेको छ ।
अर्यालको राजनीतिक यात्राभन्दा अगाडिको पहिचान भने युवा नेतृत्व विकास र सामाजिक अभियानसँग जोडिएको छ । धादिङको ज्वालामुखी गाउँपालिका–४, ढोलामा जन्मिएका अर्यालले प्लस–टु अध्ययनकै क्रममा युवालाई संगठित गर्ने उद्देश्यले ‘युथ पार्लियामेन्ट’को अवधारणा अघि सारेका अर्यालले २०६८ को अन्त्यतिर साथीहरूसँग मिलेर युथ पार्लियामेन्ट नेपाल दर्ता गरेका थिए । त्यसपछि युवालाई नीति निर्माण र सार्वजनिक बहसमा सहभागी गराउने उद्देश्यले उनले ‘मिनी संसद्’को अवधारणा अघि बढाए ।
पहिलो संविधानसभाले संविधान निर्माण गर्न नसकेपछि अर्यालको नेतृत्वमा ३०१ सदस्यीय ‘नमुना युवा संविधानसभा’ गठन गरिएको थियो । उक्त युवा संविधानसभाले विभिन्न विषयमा छलफल गर्दै संविधानको नमुना तयार गरेको थियो। तयार गरिएको नमुना संविधान तत्कालीन संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई समेत बुझाइएको थियो ।
नेपालमा युवा अभियानलाई संस्थागत गर्दै आएका अर्यालले पछि त्यसलाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गरे । उनको नेतृत्वमा ग्लोबल युथ पार्लियामेन्ट स्थापना भयो । २०२४ मा प्रकाशित विवरणअनुसार त्यसबेला ग्लोबल युथ पार्लियामेन्टमा ८६ देशका २१ सयभन्दा बढी युवा जोडिएका थिए । ८० भन्दा बढी देशका एक हजारभन्दा बढी युवाले संस्थाका विभिन्न कार्यक्रमका क्रममा नेपाल भ्रमणसमेत गरिसकेका थिए ।
ग्लोबल युथ पार्लियामेन्टले युवा नेतृत्व विकाससँगै कला–संस्कृतिको आदानप्रदान र पर्यटन प्रवर्द्धनलाई समेत आफ्नो कार्यक्षेत्र बनाउँदै आएको छ । नेपालसहित भारत, बंगलादेश, श्रीलंका, मलेसिया, थाइल्यान्ड, फिलिपिन्स, इटाली, जर्मनी, अस्ट्रेलिया, केन्या, संयुक्त अरब इमिरेट्स, दक्षिण कोरिया, ताइवान र इजिप्टलगायत देशमा संस्थाका कार्यक्रम भएका छन् ।
अर्यालको युवा क्षेत्रमा योगदानलाई नेपाल सरकारले समेत सम्मान गरेको छ। उनलाई समाजसेवा रत्न–२०७९ बाट विभूषित गरिएको थियो । त्यस्तै, युवा तथा खेलकुद मन्त्रालयले २०८० मा युवा सशक्तीकरण तथा नेतृत्व विकास क्षेत्रमा योगदान पुर्याएको भन्दै राष्ट्रिय युवा प्रतिभा सम्मान पुरस्कार प्रदान गरेको थियो ।
पछिल्लो समय पनि अर्याल युवा राजनीतिक चेतना र नेतृत्व विकाससँग सम्बन्धित गतिविधिमा सक्रिय थिए । २०८२ साउनमा देशका १६५ निर्वाचन क्षेत्रबाट छनोट भएका राष्ट्रिय युवा सांसदलाई शपथ गराउने कार्यक्रममा उनले ग्लोबल युथ पार्लियामेन्टका अध्यक्षका रूपमा शपथ गराएका थिए। युवा सांसद छनोटका लागि सात हजारभन्दा बढी आवेदन परेको थियो ।
राजनीति शास्त्रमा स्नातकोत्तर गरेका अर्यालले युवा अभियानसँगै प्रविधि र सामाजिक उद्यमको क्षेत्रमा समेत काम गरेका छन्। उनले आईटी कम्पनी सञ्चालन गर्दै रोजगारी सिर्जनामा समेत काम गरेको उनको विगतको प्रोफाइलमा उल्लेख छ ।
अब उज्यालो नेपाल पार्टीको महासचिवको जिम्मेवारीसँगै अर्यालको भूमिका सामाजिक अभियानभन्दा फरक राजनीतिक तहमा पुगेको छ । युवा नेतृत्व, सुशासन र प्रणालीगत सुधारका विषयमा लामो समयदेखि काम गर्दै आएका अर्यालले ती एजेन्डालाई अब पार्टी संगठन, नीति निर्माण र निर्वाचन राजनीतिमा कसरी रूपान्तरण गर्छन् भन्ने उनको नयाँ जिम्मेवारीको मुख्य परीक्षा हुनेछ ।
उज्यालो नेपाल पार्टीले युवालाई नीति निर्माणदेखि कार्यान्वयनसम्म अग्रपंक्तिमा ल्याउने तथा योग्यता, इमानदारी र जनविश्वासलाई नेतृत्वको आधार बनाउने बताउँदै आएको छ । यही राजनीतिक दृष्टिकोणभित्र अर्यालको महासचिव नियुक्तिलाई पार्टीमा युवा पुस्ताको भूमिकालाई थप संस्थागत गर्ने प्रयासका रूपमा पनि हेरिएको छ ।
प्रकाशित मिति: २९ भाद्र २०८३, सोमबार












प्रतिक्रिया