काठमाडौं । भरतपुरको सडकमा विद्युतीय कार जीएसी आयोन वाईमा भएको आगलागीको दुर्घटना र त्यसपछि आएका प्रतिक्रियाहरूप्रति सीजी मोटर्स प्रालिले ध्यानाकर्षण भएको जनाएको छ । गत २६ भदौमा भएको उक्त घटनाका सम्बन्धमा मङ्गलबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले दुर्घटनाको निष्पक्ष, प्राविधिक तथा वैज्ञानिक अनुसन्धानका लागि पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको हो ।
साथै, दुर्घटनामा परी ज्यान गुमाएका अमर पराजुलीप्रति श्रद्धाञ्जली अर्पण गर्दै सीजी मोटर्सले मृतकका शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।
नेपाल प्रहरी तथा सम्बन्धित सरकारी निकायबाट अनुसन्धान भइरहेको भन्दै कम्पनीले आधिकारिक निष्कर्ष आउनुअघि धैर्य गर्न आग्रह गरेको छ। उत्पादक कम्पनीले समेत सवारीसाधनको आवश्यक परीक्षण तथा प्राविधिक अनुसन्धान गरी रिपोर्ट सार्वजनिक गर्ने सीजी मोटर्सले जनाएको छ।
सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा अपुष्ट सूचना, अनुमान र एकपक्षीय दाबीका आधारमा घटना अतिरञ्जित गर्ने वा अनुसन्धानअघि नै कसैलाई दोषी ठहर गर्ने प्रवृत्तिप्रति कम्पनीले आपत्ति जनाएको छ। आधिकारिक अनुसन्धानको अन्तिम निष्कर्ष नआएसम्म भ्रामक सूचना र उत्तेजना फैलाउने गतिविधिमा संलग्न नहुन सीजी मोटर्सले सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ।
प्रकाशित मिति: ३० भाद्र २०८३, मंगलबार












प्रतिक्रिया