काठमाडौं । भोटेकोशी बाढीका कारण अवरुद्ध भएको रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङ पूर्ण रूपमा खोलिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकालका अनुसार बुधबार दिउँसो १ देखि २ बजेको बीचमा निरन्तरको प्रयासपछि सुरुङ खोलिएको हो। सुरुङ खुलेसँगै उद्धारका लागि नेपाली सेनालाई जिम्मा लगाइएको उनले जानकारी दिएका छन्।
करिब ११ दिनदेखि घटनास्थलमै खटिएका ढकालले सांसद, इन्जिनियर तथा सामान्य नागरिकका रूपमा आफूले सक्दो प्रयास गरेको बताएका छन्।
उद्धारका क्रममा आवश्यक ठाउँमा भारी बोक्नेदेखि मजदुरकै रूपमा काम गर्नुपरेको उनले बताए।
‘मैले आफूले सांसद, इन्जिनियर, नेपाली र सामान्य मानवको हिसाबले सकेजति पूरै प्रयास गरेँ, केही पनि कसर बाँकी राखिनँ। भारी बोक्नुपर्ने ठाउँमा बोकेँ, लेबर नै हुनुपर्ने ठाउँमा त्यो पनि भएँ,’ उनले भने।
सुरुङ खोल्ने क्रममा पटक–पटक कठिनाइ आए पनि विभिन्न उपाय अपनाउँदै अन्ततः सफलता प्राप्त भएको ढकालको भनाइ छ।
‘सुरुङ खोल्नै सकिँदैन कि भनेर धेरै पटक अत्यास लाग्यो, पटक-पटक स्तब्ध भयौँ र थुप्रै उपाय लगाउँदा पनि असफल भयौँ। तर अन्ततः आफैँले नेतृत्व गरेर यो कठिन काम पूरा गर्यौँ,’ उनले भने।
उनका अनुसार इन्जिनियरिङ क्षेत्रका उदय र श्रीरामसहित चिलिमे परिवारको संयुक्त प्राविधिक प्रयासबाट जटिल मानिएको सुरुङ खोल्ने काम सम्भव भएको हो।
सुरुङ खुलेपछि भित्र फेला परेका मृतकका शव बाहिर निकाल्ने काम भइरहेको ढकालले बताएका छन्। घटनासम्बन्धी विस्तृत विवरण भने नेपाली सेनाले सार्वजनिक गर्ने उनले जानकारी दिए।
उद्धार कार्यमा निरन्तर खटिएका नेपाली सेना, भारतीय सेना, चिलिमे कम्पनी परिवार, नेपाल विद्युत् प्राधिकरण तथा स्थानीय बासिन्दाप्रति ढकालले आभार व्यक्त गरेका छन्।
भोटेकोशी बाढीपछि ११ दिनसम्म घटनास्थलमा रहेर उद्धार प्रयासमा सहभागी भएका ढकालले यस अवधिमा निकै पीडाबोध भएको बताएका छन्। उनले बुधबार वा बिहीबार बिहान चिलिमेबाट फर्किने जानकारी दिएका छन्।
प्रकाशित मिति: ३१ भाद्र २०८३, बुधबार












प्रतिक्रिया