काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गरेका छन् ।
भारत सरकारको निमन्त्रणामा अर्थमन्त्री वाग्ले बिहीबार बिहान नयाँदिल्ली प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले भारतीय उच्च अधिकारी, कूटनीतिज्ञ, उद्योगी तथा प्राज्ञिक क्षेत्रका प्रतिनिधिसँग भेटवार्ता तथा अन्तरक्रिया गर्ने कार्यक्रम छ ।
भ्रमणको पहिलो दिन बिहीबार साँझ ५ बजे वाग्लेले भारतीय अर्थमन्त्री निर्मला सीतारमणसँग भेटवार्ता गर्नेछन् ।
त्यसपछि शुक्रबार बिहान ९ बजे पूर्वभारतीय विदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा वाग्ले प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् ।
शुक्रबार नै साँझ ५ बजे उनले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसपछि साँझ ७ः३० बजे भारत व्यापार संवर्धन संगठन (आईटीपीओ) का अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने बृहत् अन्तरक्रिया कार्यक्रममा उनी सहभागी हुनेछन् ।
भ्रमणको अन्तिम दिन शनिबार बिहान ९ः३० बजे भारतीय उद्योग परिसंघ (सीआईआई) ले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाका प्रतिनिधिसहितको सम्मेलनमा वाग्ले प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन् ।
त्यसपछि बिहान ११ः३० बजे दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिसम्बन्धी प्राज्ञिक छलफल कार्यक्रममा उनले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेको भारतका उच्चपदस्थ अधिकारी, निजी क्षेत्र तथा प्राज्ञिक क्षेत्रका प्रतिनिधिसँगको भेटवार्तालाई नेपाल–भारत आर्थिक सम्बन्ध, लगानी र विकास सहकार्यका विषयमा छलफल गर्ने अवसरका रूपमा हेरिएको छ ।
प्रकाशित मिति: १ आश्विन २०८३, बिहिबार











प्रतिक्रिया