वीरगन्ज। आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वर्तमान सरकार दुई तिहाइको बहुमत भए पनि व्यवहारमा पूर्ण रूपमा शक्तिहीन र लाचार बनेको टिप्पणी गरेका छन्। आजपा सम्मिलित ९ दलीय मोर्चाको मधेस प्रदेश समन्वय समितिद्वारा वीरगन्जस्थित टाउन हलमा आयोजित बृहत् कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले सरकार जनतासँगको सम्पर्क काटेर लिकभन्दा बाहिर गएकाले मुलुक अझै पनि अन्त्यहीन सङ्कटमा फसिरहेको दाबी गरे।

उनले सरकार विपक्षीका कारण नभई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रैबाट भएको असहयोगका कारण लाचार बनेको बताए। संसद्को गणितका आधारमा शक्तिशाली देखिए पनि कमजोर नीति र व्यवहारका कारण सरकार बिजोग अवस्थामा पुगेको उनको भनाइ थियो। प्रधानमन्त्री बालेन्द्र शाहलाई आफ्ना महत्त्वाकाङ्क्षा पूरा गर्न भाषणमा भन्दा ‘एक्सन’मा उत्रिन साहले सुझाव दिए।

सरकार गठनलगत्तै पहिलो मन्त्रिपरिषद् बैठकबाट घोषणा गरिएको ‘१०० दिनमा १०० शासकीय सुधार’को कार्यक्रमले जनतामा आशा जगाए पनि पछि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुँदा त्यो उत्साह पूर्ण रूपमा निराशामा परिणत भएको साहले स्मरण गराए।

अझै पनि समय बाँकी रहेको उल्लेख गर्दै पूर्वमन्त्री साहले प्रधानमन्त्रीलाई जङ्गी अड्डातर्फ नभई जनताको भरोसामा चल्न आग्रह गरे। ‘सङ्ख्या होइन सत्य, बल होइन विधि र सेना होइन संविधानको साथमा अघि बढ्नुपर्छ,’ उनले भने।

सुनसरीको देवानगञ्जमा धार्मिक सद्भाव बिग्रेको घटनादेखि रसुवाको भोटेकोशी बाढी विपत्तिसम्मका समयमा रास्वपा नेतृत्वले प्रधानमन्त्रीलाई बाइपास गरेर मन्त्रीहरू र आफ्ना नेताहरूमार्फत समानान्तर गतिविधि देखाएको साहले आरोप लगाए।

विदेश नीति र कूटनीतिक अभ्यासमा समेत रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री शाह फरक-फरक दिशामा उभिएको उल्लेख गर्दै उनले भने, ‘लामिछानेले समानान्तर सरकार चलाउन खोज्दा शासकीय कार्यसम्पादन खस्किएको छ। सरकारभित्रै चलिरहेको आरोप-प्रत्यारोप र भागबन्डाको राजनीतिले यिनको असली चरित्र छताछुल्ल पारेको छ।’

सामान्य उपभोग्य वस्तु ग्यासको अभावमा जनताको चुलो निभ्ने अवस्था आउँदा पनि समाधान खोज्न नसक्नु र सरकारी सेवामा लाइन झनै बढ्नुले सरकारको असफलता पुष्टि गरेको साहको तर्क थियो।

साथै, हालै भएका सरकारी नियुक्तिहरूमा समावेशिताको मर्मलाई पूर्ण रूपमा उपेक्षा गरिएको र कर्णाली एवं दलित समुदायको प्रतिनिधित्व शून्य बनाइएको भन्दै उनले सरकारको कडा आलोचना गरे।

अहिलेको राजनीतिक व्यवस्थामा सुधार नगरेसम्म देशले निकास नपाउने स्पष्ट पार्दै साहले नयाँ राजनीतिक शक्तिहरूले अहङ्कारयुक्त र एकाधिकारवादी राजनीति गर्न खोजेको टिप्पणी गरे।

‘उनीहरू सिन्डिकेट र सर्वसत्तावाद चाहन्छन्, तर हामी सोलिडारिटी, सहअस्तित्व र सर्वस्वीकार्य बहुलवादको पक्षमा छौँ,’ उनले थपे, ‘नयाँ भनिएकाहरूले सामाजिक सञ्जाल मात्र बुझेका छन्, तर हामी समाजको धरातल बुझेका नेता हौँ।’

मोर्चामा आबद्ध नेताहरूले थोरै समय सरकारमा रहँदा पनि दीर्घकालीन प्रभाव पार्ने काम गरेको दाबी गर्दै साहले उपेन्द्र यादवको वैदेशिक नीति र स्वास्थ्य क्षेत्रको सुधार, जनार्दन शर्माले गरेको लोडसेडिङ अन्त्य र आफूले सहरी विकास मन्त्री हुँदा स्मार्ट सिटी तथा सभा हल निर्माणमा खेलेको भूमिकाको उदाहरण प्रस्तुत गरे।

देशलाई सङ्कट पर्दा मधेसले सधैँ साथ दिएको स्मरण गराउँदै भूकम्प, कोभिड र हालैको भोटेकोशी बाढीको विपत्तिमा पनि मधेसी जनता देशको दुःखमा अग्रपङ्क्तिमा उभिएको साहले बताए। आफ्नो मोर्चा सत्ताको खेलमा नलागी व्यवस्था र अवस्था बदल्ने सङ्घर्षको बाटोमा दृढताका साथ अघि बढ्ने उनको प्रतिबद्धता थियो।

प्रकाशित मिति: ३ आश्विन २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com