काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्षको ‘जेन-जी’ आन्दोलनका क्रममा योजनाबद्ध रूपमा घुसपैठ गराएर गोली चलाइएको दाबी गर्दै अरूको षड्यन्त्रको दोष आफ्नो टाउकामा नथुपार्न चेतावनी दिएका छन्।
शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित संविधान दिवस विशेष समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले तत्कालीन सरकार प्रमुखको रूपमा आफूले आन्दोलनकारीमाथि दमन नगर्न र गोली नचलाउन स्पष्ट निर्देशन दिएको स्मरण गराए। उनले षड्यन्त्रकारीहरूले योजनाबद्ध रूपमा हत्याकाण्ड मच्चाएर ‘काँक्रो आफूले खाने र बियाँ अरूको मुखमा टाँस्ने’ खेल खेलेको जिकिर गरे।
गत भदौ २३ गते अनावश्यक ढङ्गले हत्याकाण्ड गराइएको र त्यसैलाई निहुँ बनाएर भोलिपल्ट देशभर लुटपाट, हिंसा र आतङ्क फिँजाइएको ओलीको भनाइ थियो।
‘प्रधानमन्त्री म थिएँ, मैले गोली नचलाउनु, दमन नगर्नु भनेको थिएँ। गोली हामीले चलाएनौँ,’ ओलीले प्रश्न गरे, ‘तर स्पष्ट निर्देशनका बाबजुद दमन कसले र किन गरायो? यसको निष्पक्ष छानबिन हुनुपर्छ।’
आन्दोलनका क्रममा सिंहदरबार, संसद् भवन र राजनीतिक दलका नेताहरूका घरमा भएको आगजनी र ताेडफोड कुनै आकस्मिक आक्रोशको परिणाम नभई दीर्घकालीन षड्यन्त्र भएको ओलीले दाबी गरे। संरचनाहरू जलाइनुभन्दा अगावै तिनका डढेका तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक हुनुले नै यो घटना पूर्वयोजित थियो भन्ने पुष्टि हुने उनको तर्क छ।
मुलुकलाई अराजकताको भुमरीमा धकेलेर बाह्य स्वार्थ पूरा गर्ने खेल भइरहेको आरोप लगाउँदै अध्यक्ष ओलीले भने, ‘नेपाललाई अस्थिर बनाएर आफ्ना प्यादाहरूको कथित सरकार खडा गर्ने र स्वार्थ सिद्ध गर्ने गम्भीर षड्यन्त्रअन्तर्गत नै आन्दोलनमा घुसपैठ गराइएको हो।’
प्रकाशित मिति: ३ आश्विन २०८३, शनिबार












प्रतिक्रिया