काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नेतृत्व परिवर्तनलाई मात्र ‘पुनर्गठन’ भन्न नमिल्ने तर्क गर्दै तत्काल नेतृत्व छाड्ने पक्षमा नरहेको स्पष्ट संकेत दिएका छन् ।
केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै ओलीले पार्टी पुनर्गठन कुनै रहर वा लहडको विषय नभएको बताएका छन् । पार्टीको अवस्था, वैचारिक दिशा र संगठनात्मक संकटको विश्लेषण नगरी नेतृत्व विस्थापन गर्नु पुनर्गठन हुन नसक्ने उनको भनाइ छ ।
आफ्नो प्रतिवेदनमा ओलीले एमाले तथा तत्कालीन कम्युनिस्ट आन्दोलनमा भएका तीनवटा पुनर्गठनका उदाहरण प्रस्तुत गरेका छन् । केशरजंग रायमाझीको नेतृत्वमा आएको दक्षिणपन्थी मोड, झापा आन्दोलनबाट पार्टी पुनर्गठन तथा २०७५ सालपछि भएको पार्टी पुनर्गठनलाई उनले फरक–फरक ऐतिहासिक परिस्थितिका उदाहरणका रूपमा व्याख्या गरेका छन् ।
ओलीले अहिले ‘पुनर्गठन’को नाममा चलाइएको बहस विगतका ती परिस्थितिसँग मेल नखाने दाबी गरेका छन् । उनका अनुसार विगतमा पार्टी र आन्दोलनकै अस्तित्व जोगाउन बाध्यकारी अवस्थामा पुनर्गठन गरिएको थियो, जबकि अहिलेको परिस्थितिलाई त्योसँग तुलना गर्न नमिल्ने उनको तर्क छ ।
उनले पार्टीमा ‘रूपान्तरण, हस्तान्तरण र पुस्तान्तरण’लाई समेत फरक अर्थमा बुझ्नुपर्ने बताएका छन् । रूपान्तरण भनेको पार्टीको इतिहास, विचार र संगठनात्मक परम्परा मेट्नु नभई कार्यशैली, निर्णय प्रक्रिया र जनतासँगको सम्बन्धमा परिवर्तन ल्याउनु रहेको उनले उल्लेख गरेका छन् ।
नेतृत्व हस्तान्तरणलाई पनि पद खाली गर्ने आकस्मिक प्रक्रिया नभई जिम्मेवारी, ज्ञान, अनुभव र निर्णय क्षमताको योजनाबद्ध हस्तान्तरणका रूपमा लिनुपर्ने ओलीको भनाइ छ । पुस्तान्तरण उमेरको अंकगणित मात्र नभई नयाँ पुस्तालाई जिम्मेवारी, प्रशिक्षण, अनुभव र निर्णय प्रक्रियामा अवसर दिने विषय भएको उनले बताएका छन् ।
ओलीले आफ्नो धारणा स्पष्ट पार्न ‘पुरानो रूखमा नयाँ पालुवा ल्याउन जरा काटिँदैन’ भन्ने उदाहरणसमेत दिएका छन् । एमालेको इतिहासलाई जरा र नयाँ पुस्तालाई पालुवासँग तुलना गर्दै उनले अनुभव र ऊर्जाबीच सन्तुलन आवश्यक रहेको बताएका छन् ।
प्रकाशित मिति: ५ आश्विन २०८३, सोमबार










प्रतिक्रिया