विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफू कुनै विदेशी शक्तिको समर्थन वा दलालीबाट नभई नेपाली जनताको सार्वभौम मतबाट प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।

धनकुटामा आयोजित पार्टी प्रवेश तथा हातेमालो कार्यक्रममा बोल्दै साम्पाङले जनताले चाहे आफू केही समयमै देशको प्रधानमन्त्री बन्न सक्ने बताए ।

आफू प्रधानमन्त्री बन्ने कुरा पहिले नसोचेको उल्लेख गर्दै उनले एक व्यक्तिले ‘सात जुनीमा पनि साम्पाङ प्रधानमन्त्री बन्न सक्दैन’ भनेपछि आफूमा प्रधानमन्त्री बन्ने सोच आएको बताए ।

‘सात जुनीमा पनि साम्पाङ प्रधानमन्त्री बन्न सक्दैन भनेर एक जना दाइले भन्नुभएछ । उहाँको कुरा सुनेपछि मलाई प्रधानमन्त्री बन्ने सोच आयो,’ उनले भने ।

देश विकासको आफ्नो लक्ष्य पूरा गर्न प्रधानमन्त्री पद आवश्यक रहेको उनको भनाइ थियो । बस चलाउन चालकको हातमा बसको चाबी हुनुपर्ने उदाहरण दिँदै साम्पाङले देश निर्माणका लागि पनि आफू सरकारको नेतृत्वमा पुग्नुपर्ने बताए ।

उनले प्रधानमन्त्री बन्नका लागि भारत, चीन वा अन्य कुनै विदेशी शक्तिको आशीर्वाद खोज्ने पक्षमा आफू नरहेको दाबी गरे ।

‘भारत, चीन वा कुनै ‘ग्रे जोन’को आशीर्वादले म प्रधानमन्त्री बन्ने होइन, केवल नेपाली जनताको सार्वभौम मतले प्रधानमन्त्री बन्ने हो,’ उनले भने ।

प्रधानमन्त्री बनेपछि देशका नागरिकको श्रम र सीपलाई विकास निर्माणमा परिचालन गर्ने उनले बताए । तीन करोड नेपालीका ‘छ करोड हात’लाई काममा लगाएर देश निर्माण गर्ने उनको भनाइ थियो ।

‘केवल भाषण र कलम चलाएर मात्र देश बन्दैन । देश बनाउन औजार चलाएर श्रमदानमार्फत सारा संसारलाई चकित पार्ने गरी काम गर्नुपर्छ,’ साम्पाङले भने ।

आफूलाई ‘आगो बोकेको मान्छे’का रूपमा प्रस्तुत गर्दै उनले आफ्ना राजनीतिक विरोधी तथा देशी–विदेशी शक्तिलाई आफूलाई कमजोर नठान्न चेतावनी दिए ।

धरान उपमहानगरपालिकाको नेतृत्वमा रहँदा ठूला राजनीतिक दललाई पछि पारेर आफू स्वतन्त्र रूपमा निर्वाचित भएको स्मरण गर्दै उनले अहिले आफ्नो साथमा ठूलो संख्यामा श्रमदाताहरू जोडिएको बताए ।

‘धरान उपमहानगरपालिकामा ठूला–ठूला राजनीतिक दलहरूलाई पछारेर एक्लै माइक बोकेर निस्किएको मान्छे हो । अहिले त मसँग लाखौँ श्रमदाताहरू साथमा छन्,’ उनले भने ।

विदेशीको चाकरी गरेर राजनीति गर्नेहरूप्रति पनि उनले टिप्पणी गरे । आफूलाई जति दबाउन खोजे पनि अझै बलियो भएर अघि बढ्ने दाबी गर्दै साम्पाङले आफूलाई कहिल्यै नफुट्ने भकुन्डोसँग तुलना गरे ।

प्रकाशित मिति: ७ आश्विन २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com