काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले जनकपुरधामस्थित जानकी मन्दिरलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने सरकारको निर्णयको स्वागत गरेका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै झाले आफूहरूले चुनावी अभियानका क्रममा गरेको प्रतिबद्धताअनुसार जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया अघि बढेको भन्दै सरकारप्रति आभार व्यक्त गरे ।
मन्त्रिपरिषद्ले प्राचीन स्मारक संरक्षण ऐन, २०१३ बमोजिम जानकी मन्दिर क्षेत्रलाई चार किल्ला तोकेर संरक्षित स्मारक क्षेत्र घोषणा गरेको हो । नेपालले जानकी मन्दिरलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने लक्ष्य राखेको छ ।
झाले गत वर्षको चुनावी अभियानका क्रममा आफूहरूले जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रतिबद्धता जनाएको स्मरण गराए । उक्त प्रतिबद्धताअनुसार संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने निर्णय हुनु कार्यान्वयनतर्फको महत्वपूर्ण कदम भएको उनले बताए ।
‘गत वर्ष चुनावी अभियानको सुरुवात गर्दा जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रतिबद्धता हामीले व्यक्त गरेका थियौँ । सोही प्रतिबद्धताअनुरूप मन्दिर क्षेत्रलाई संरक्षित क्षेत्रका रूपमा घोषणा गर्ने निर्णय भएकामा आभार व्यक्त गर्दछु,’ झाले भने ।
सांसद झाले पछिल्लो समय सरकारी काममा देखिएको सक्रियताको पनि प्रशंसा गरे । उनले कृष्णभीरको सडक १२ दिनमै सञ्चालनमा ल्याउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गरेको पहल उल्लेख गर्दै सरकारी कामकारबाहीमा देखिएको यस्तो गति अन्य आयोजनामा पनि आवश्यक रहेको बताए ।
झाले बाढीबाट प्रभावितहरू बसोबास गरिरहेका अस्थायी शिविरको अवस्थाप्रति पनि सरकारको ध्यानाकर्षण गराए । विशेषगरी शिविरमा रहेका महिला तथा बालबालिकाको सुरक्षा संवेदनशील रहेको भन्दै उनले तत्काल प्रभावकारी सुरक्षा तथा व्यवस्थापनको व्यवस्था गर्न सरकारसँग आग्रह गरे ।
असुरक्षित वातावरणका कारण विपद् प्रभावित परिवार थप समस्यामा पर्न सक्ने भन्दै उनले राहत तथा पुनःस्थापनासँगै शिविरको सुरक्षा व्यवस्थालाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
प्रकाशित मिति: ७ आश्विन २०८३, बुधबार












प्रतिक्रिया