काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

मौसम विज्ञान विभागले मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुन सक्ने पूर्वानुमान सार्वजनिक गरेपछि प्रधानमन्त्री शाहले सम्भावित विपद्बाट जोगिन नागरिकलाई सावधानी अपनाउन अपिल गरेका हुन्।

बिहीबार सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले वर्षाका कारण हुन सक्ने जोखिमलाई ध्यानमा राखी सुरक्षित स्थानमा रहन तथा आवश्यक सतर्कता अपनाउन सबै नागरिकलाई आग्रह गरेका छन्।

उनले सम्भावित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि सरकारले सम्बन्धित निकायलाई आवश्यक तयारी, प्रभावकारी समन्वय र पूर्वसतर्कता अपनाउन निर्देशन दिएको जानकारी दिएका छन्।

प्रधानमन्त्री शाहले मौसम विज्ञान विभाग, स्थानीय प्रशासन तथा सम्बन्धित निकायबाट जारी हुने मौसमसम्बन्धी सूचना नियमित रूपमा हेर्नसमेत आग्रह गरेका छन्। जोखिमको अवस्था देखिएमा सम्बन्धित निकायले जारी गर्ने निर्देशन पालना गर्न उनले नागरिकलाई अनुरोध गरेका छन्।

सम्भावित वर्षा र त्यसबाट उत्पन्न हुन सक्ने बाढी, पहिरो, डुबान तथा अन्य विपद्को जोखिमलाई ध्यानमा राखी सरकारी निकायलाई तयारी अवस्थामा रहन आग्रह गरिएको प्रधानमन्त्री शाहको भनाइ छ।

प्रकाशित मिति: ७ आश्विन २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com