काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्समा जारी विद्यार्थी आन्दोलनलाई ‘अनियन्त्रित सामूहिक बसाइँसराइ’ र इस्लामसँग जोड्दै फ्रान्स कब्जा गर्ने प्रयास भइरहेको टिप्पणी गरेका छन्।
ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेख्दै फ्रान्समा भइरहेको घटना विद्यालयको विषय मात्र नभएको दाबी गरेका छन्। उनले यसलाई ‘फ्रान्समाथि कब्जा गर्ने इस्लामको मनसाय’का रूपमा व्याख्या गरेका हुन्।
फ्रान्समा शिक्षकको अभाव, कक्षाकोठामा अत्यधिक भिड, कमजोर पूर्वाधार तथा स्रोतसाधनको अभावलगायतका विषयलाई लिएर हाइस्कुलका विद्यार्थीले सुरु गरेको प्रदर्शन पेरिससहित मार्सेई, लियोन, लिल र स्ट्रासबर्गलगायत सहरमा फैलिएको छ।
केही स्थानमा प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले अश्रुग्यास प्रयोग गरेको छ भने सवारीसाधनमा आगजनीका घटना पनि भएका छन्। फ्रान्सेली गृह मन्त्रालयका अनुसार मंगलबार देशभर २ लाख ५० हजारभन्दा बढी मानिस प्रदर्शनमा सहभागी भएका थिए। आयोजकले भने सहभागीको संख्या ४ लाखभन्दा बढी रहेको दाबी गरेका छन्।
ट्रम्पले यसअघि पनि युरोपको आप्रवासन नीतिको आलोचना गर्दै आएका छन्। फ्रान्समा जारी प्रदर्शनलाई लिएर दक्षिणपन्थी दलहरूले पनि कडा प्रतिक्रिया जनाएका छन्। ‘नेसनल र्याली’की नेता मरीन ले पेनले हिंसात्मक घटनामा संलग्नलाई कडा सजाय दिन माग गरेकी छन्।
फ्रान्सेली सरकारले प्रदर्शन नियन्त्रणका लागि ठूलो संख्यामा सुरक्षा बल परिचालन गरेको छ।
प्रकाशित मिति: २१ आश्विन २०८३, बुधबार












प्रतिक्रिया