काठमाडौं । संयुक्त राष्ट्रसङ्घमा अमेरिकी राजदूत माइक वाल्ट्ज र क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगेज पारिलाबीच चर्काचर्की भएको छ। क्युबाको मानवअधिकार अवस्थाबारे अमेरिकी राजदूतले लगाएको आरोपपछि क्युबाली प्रतिनिधिमण्डलले आपत्ति जनाउँदै अभिव्यक्ति फिर्ता लिन माग गरेको थियो।
सम्बोधनका क्रममा वाल्ट्जले क्युबाको कास्त्रो सरकारमाथि समलैङ्गिक व्यक्ति, इसाई तथा अफ्रिकी मूलका क्युबाली नागरिकसहित हजारौँ मानिसलाई यातना शिविरमा पठाएको, सम्पत्ति खोसेको र जबर्जस्ती श्रम गराएको आरोप लगाए।
उनले क्युबाले विगतका अत्याचार समाप्त भइसकेको सन्देश विश्वलाई दिन खोजे पनि त्यसको वास्तविकता उजागर गर्न आफूहरू आएको बताए।
अमेरिकी राजदूतको भनाइप्रति क्युबाली प्रतिनिधिमण्डलले तत्काल आपत्ति जनाउँदै अभिव्यक्ति फिर्ता लिन माग गरेपछि केही समय बैठकमा तनाव उत्पन्न भएको थियो। हंगामाका कारण वाल्ट्जले आफ्नो सम्बोधनसमेत रोक्नुपरेको थियो।
त्यसपछि वाल्ट्जले क्युबामा यस्ता प्रश्न सार्वजनिक रूपमा उठाउँदा कस्तो अवस्था सिर्जना होला भन्दै त्यहाँका सर्वसाधारणले भोग्नुपर्ने परिस्थितिबारे प्रश्न उठाए।
घटनाले संयुक्त राष्ट्रसङ्घको मञ्चमै अमेरिका र क्युबाबीचको पुरानो राजनीतिक तथा वैचारिक तनाव पुनः सतहमा आएको देखाएको छ।
प्रकाशित मिति: १२ कार्तिक २०८३, बुधबार












प्रतिक्रिया