काठमाडौं । व्यवसायी दीपक भट्ट प्रकरणमा जोडिएका इनम सापकोटाविरुद्ध सर्वोच्च अदालतका न्यायाधीशहरूले नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी दिएको खुलेको छ। न्यायाधीशहरूको उजुरीपछि प्रधानमन्त्री कार्यालयको निर्देशनमा नेपाल प्रहरीले सापकोटालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको बताइएको छ।

प्रधानन्यायाधीश मनोजकुमार शर्मा र न्यायाधीश हरिप्रसाद फुयाँलसँगको संवाद प्रकरणमा मुछिएका सापकोटाले लामो समयदेखि न्यायाधीशहरूलाई प्रभावमा पार्ने प्रयास गर्दै आएको सर्वोच्चका एक न्यायाधीशले बताएका छन्।

ती न्यायाधीशका अनुसार सापकोटाले व्यवसायी दीपक भट्टलाई रिहा गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेन्द्र शाहको नाम लिएपछि उनीहरूमाथि शङ्का उत्पन्न भएको थियो। त्यसपछि सापकोटाको गतिविधिबारे प्रधानमन्त्री कार्यालयलाई जानकारी गराइएको उनले बताए।

‘हामीले नै इनमलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने भन्दै जानकारी गराएका हौँ। हाम्रै आग्रहका आधारमा इनम पक्राउ परेका हुन्,’ ती न्यायाधीशले भने।

उनका अनुसार सापकोटाले सुरुमा प्रधानमन्त्रीको नाम लिएर न्यायाधीशहरूलाई दबाब दिएका थिए भने महाअभियोगको विषयसमेत उठाएर धम्की दिने गरेका थिए।

सात जना सर्वोच्च अदालतका न्यायाधीशसँग होटल हिमालयमा भएको भेटमा सापकोटाले प्रधानमन्त्री शाहको मनस्थिति परिवर्तन भएको भन्दै दीपक भट्टलाई रिहा गर्न आग्रह गरेको ती न्यायाधीशको भनाइ छ।

‘सर्वोच्चका सात जना न्यायाधीशसँग होटल हिमालयमा भएको भेटमा अब प्रधानमन्त्री बालेन्द्र शाहको मुड फेरियो, दीपक भट्टलाई छाडिदिनुस् भनेर आग्रह गरे,’ उनले भने, ‘त्यसपछि हामी सशङ्कित भयौँ। प्रधानमन्त्री कार्यालयलाई यो व्यक्ति को हो, तपाईंहरूको नाम लिएर धम्कीपूर्ण भाषा बोलिरहेको छ भनेर खबर गर्‍यौँ।’

न्यायाधीशले आफूहरूले कुनै बदनियत राखेर काम नगरेको दाबीसमेत गरेका छन्।

सुरुमा सापकोटाले न्यायाधीशहरूसँग स्वतन्त्र न्यायपालिकाको विषय उठाउने गरेको भए पनि पछिल्लो समय विवादास्पद व्यवसायीहरूलाई मुद्दाबाट छुटाउनुपर्ने भन्दै प्रधानमन्त्रीको नाम लिएर दबाब दिने गरेको ती न्यायाधीशको भनाइ छ।

सापकोटाले सर्वोच्च अदालतका अतिरिक्त विशेष अदालत र उच्च अदालतका न्यायाधीशहरूलाई समेत भेटेर दीपक भट्टसम्बन्धी मुद्दामा चासो राख्ने गरेको बताइएको छ।

प्रकाशित मिति: १३ कार्तिक २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com