काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयहरूको नक्साङ्कन र विद्यालयहरूको भौतिक पूर्वाधार मूल्याङ्कन तीव्र रूपमा अघि बढाइएको बताएका छन्। उनले आवश्यकताका आधारमा लगानी गरी विश्वविद्यालयमा हुने दोहोरो खर्च रोक्ने सरकारको योजना रहेको बताए।
बागमती विश्वविद्यालयले हेटौँडामा आयोजना गरेको उच्च शिक्षा प्रणाली सुदृढीकरणसम्बन्धी गोष्ठीको उद्घाटन गर्दै मन्त्री पोखरेलले विश्वविद्यालय स्थापना गर्दा भौगोलिक आवश्यकता, औचित्य र स्थानीय अवस्थालाई आधार बनाउनुपर्नेमा जोड दिए।
उनले संघीय र प्रदेश सरकारअन्तर्गतका विश्वविद्यालयबीच समन्वय बढाउन आवश्यक संयन्त्र निर्माण गरिएको जानकारी दिँदै शिक्षा क्षेत्रमा नीतिगत तथा संरचनागत सुधार भइरहेको बताए। विद्यालय शिक्षा ऐन निर्माण र शिक्षा नियमावली संशोधनको प्रक्रिया पनि जारी रहेको उनको भनाइ थियो।
दुई दिनसम्म चल्ने गोष्ठीमा उच्च शिक्षाको गुणस्तर सुधार, विश्वविद्यालयको संस्थागत विकास, शैक्षिक कार्यक्रमको प्रभावकारिता र संघ तथा प्रदेशबीचको सहकार्यका विषयमा छलफल भइरहेको छ।
प्रकाशित मिति: १३ कार्तिक २०८३, बिहिबार











प्रतिक्रिया