काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको नेतृत्व र जिम्मेवारी युवा पुस्तामा आएकाले अब सिङ्गो देशलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण एवं प्रमाणपत्र वितरण समारोहलाई सम्बोधन गर्दै शर्माले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न नयाँ नेतृत्वलाई आग्रह गरेका हुन्।
उनले अबको राजनीति भाषण र गतिविधिमा मात्र सीमित नभई परिणाममुखी हुनुपर्नेमा जोड दिए। पार्टीलाई बलियो बनाउँदै समृद्ध नेपालको अभियानमा जुट्नुपर्ने उनको भनाइ थियो।
शर्माले पार्टीको गौरवशाली इतिहासलाई आत्मसात् गर्दै वर्तमानलाई जिम्मेवार र भविष्यलाई सुन्दर बनाउने सङ्कल्प गर्न नवनिर्वाचित नेतृत्वलाई आग्रह गरे। महाधिवेशनका क्रममा भएका असमझदारी र तीतामीठा अनुभव बिर्सेर सबैलाई समेट्दै अघि बढ्नुपर्ने उनले बताए।
निर्वाचनमा विजयी भएका नेताहरूले आफूलाई मत दिने प्रतिनिधिको विश्वासको सम्मान गर्नुपर्ने उल्लेख गर्दै उनले पराजित उम्मेदवार र निर्वाचन प्रक्रियामा सहभागी हुन नपाएका नेता–कार्यकर्तालाई समेत समेट्नु नयाँ नेतृत्वको साझा दायित्व भएको बताए।
पार्टी सञ्चालनमा व्यक्तिगत सक्रियताभन्दा संस्थागत योजना र समन्वयलाई प्राथमिकता दिनुपर्ने उनको धारणा थियो। केन्द्रले तय गरेका योजना र निर्देशनअनुसार संगठनका कमजोरी सुधार्दै देश र नागरिकको हितलाई पार्टीगत स्वार्थभन्दा माथि राख्न उनले आग्रह गरे।
शर्माले कांग्रेसलाई सञ्चारमाध्यम र सामाजिक सञ्जालमैत्री बनाउनुपर्ने आवश्यकता पनि औँल्याए। साथै, सामाजिक विसङ्गति अन्त्य गर्दै रूपान्तरणको अभियान अघि बढाउनुपर्ने बताए।
जलवायु परिवर्तनका कारण नागरिकले भोगिरहेका समस्या र विपद्का जोखिम न्यूनीकरणमा सरकार तथा जनप्रतिनिधि गम्भीर हुनुपर्नेमा जोड दिँदै उनले प्रभावित परिवारको जीवनरक्षा र जनजीविका सुधारका लागि सरकारसँग सहकार्य गर्नुपर्ने बताए।
प्रकाशित मिति: १४ कार्तिक २०८३, शुक्रबार












प्रतिक्रिया