काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) लाई निलम्बन गरेको छ।
मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ६ को उपदफा (२) बमोजिम संस्थालाई निलम्बन गर्ने निर्णय गरेको जनाएको हो।
सरकारको स्वीकृतिमा सञ्चालन हुँदै आएको एन प्याब्सनले मन्त्रालयबाट जारी निर्देशन पटक–पटक उल्लंघन गरेको मन्त्रालयको भनाइ छ। संस्थाका पदाधिकारीले सरकारबाट स्वीकृत विधान र संस्थाको मूल उद्देश्यविपरीत गतिविधि गरेको पनि मन्त्रालयले जनाएको छ।
यसअघि मन्त्रालयले असोज २३ गते सम्बन्धित सरोकारवालासँग छलफल गरी राष्ट्रिय निर्देशन ऐन तथा २०८२ मंसिर १२ गते जारी निर्देशनअनुसार काम गर्न आग्रह गरेको थियो। तर, पटक–पटक सचेत गराउँदा पनि निर्देशन पालना नभएपछि निलम्बनको निर्णय गरिएको मन्त्रालयले स्पष्ट पारेको छ।
मन्त्रालयले सूचना जारी भएपछि एन प्याब्सनको नाममा कुनै पनि समूह वा गुटले गतिविधि गर्न नपाउने चेतावनी दिएको छ। त्यस्ता गतिविधि भएको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने सूचनामा उल्लेख छ।
प्रकाशित मिति: १४ कार्तिक २०८३, शुक्रबार












प्रतिक्रिया