काठमाडाैं । सरकारले आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने अभियान सञ्चालन गरेको छ।
अभियानअन्तर्गत ६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइँदैछ।
स्वास्थ्य सेवा विभागका अनुसार यस अभियानमार्फत करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २० लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखिएको छ। अभियान सञ्चालनका लागि देशभर ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ।
बालबालिकामा हुने कुपोषण तथा विभिन्न स्वास्थ्य समस्याको जोखिम न्यूनीकरण गर्दै उनीहरूको स्वास्थ्य र पोषण अवस्था सुधार गर्ने उद्देश्यले सरकारले हरेक वर्ष कात्तिक र वैशाखमा यस्तो अभियान सञ्चालन गर्दै आएको छ।
प्रकाशित मिति: १७ कार्तिक २०८३, मंगलबार













प्रतिक्रिया