काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयको विरोध गरेका छन् ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार नियुक्त गरेपछि शाहीले सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका हुन् ।

उनले व्यक्तिगत स्वार्थका आधारमा प्रहरी प्रमुखको जिम्मेवारी परिवर्तन गर्नु राज्यसत्ताको दुरुपयोग भएको टिप्पणी गरेका छन् ।

‘आईजीपीले कुनै अपराध गरेका हुन् भने प्रधानमन्त्रीको सल्लाहकार बनाएर होइन, कानुनअनुसार कारबाही गरेर जेल हाल्ने हो,’ शाहीले लेखेका छन् ।

उनले कार्कीले कुनै गल्ती नगरेको र कानुनविपरीत काम नगरेको अवस्थामा व्यक्तिगत स्वार्थका आधारमा जिम्मेवारीबाट हटाउनु गलत भएको बताएका छन् । यस्तो कार्यलाई उनले ‘राज्यसत्ताको चरम दुरुपयोग’ र ‘भ्रष्ट आचरण’को संज्ञा दिएका छन् ।

सरकारले बुधबारको मन्त्रिपरिषद् बैठकबाट कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो । साथै, रिक्त हुने प्रहरी महानिरीक्षक पदमा अतिरिक्त महानिरीक्षक डा. मनोजकुमार केसीलाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ ।

प्रकाशित मिति: १८ कार्तिक २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This