काठमाडौं । अमेरिकाको मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टी पराजित भई डेमोक्र्याटिक पार्टीले सफलता हासिल गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ भने अमेरिकी सेयर बजारमा उल्लेख्य वृद्धि भएको छ ।
बुधबार कारोबारका क्रममा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निर्धारणको प्रमुख आधार मानिने ब्रेन्ट क्रुडको मूल्य ८ प्रतिशतभन्दा बढीले घटेर प्रतिब्यारेल करिब ९५ अमेरिकी डलरमा झरेको थियो । यो पछिल्लो दुई महिनायताकै न्यून मूल्य हो ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानसँगको युद्धका कारण रिपब्लिकन पार्टीले निर्वाचनमा हार बेहोर्नुपरेको टिप्पणी गरेपछि तेल बजारमा गिरावट आएको हो । उनको अभिव्यक्तिपछि लगानीकर्ताले मध्यपूर्वमा जारी द्वन्द्व थप चर्किने सम्भावनाबारे आफ्नो धारणा पुनरावलोकन गरेका छन् ।
भान्सले युद्ध अन्त्य गर्न, बढ्दो जीवनयापन खर्च नियन्त्रणमा ध्यान दिन तथा इजरायलसँगको अमेरिकी सम्बन्धको पुनरावलोकन गर्नुपर्ने धारणा राखेका थिए । उनको यस्तो अभिव्यक्तिलाई बजारले मध्यपूर्वमा तनाव कम हुन सक्ने संकेतका रूपमा लिएको देखिएको छ ।
यसैबीच, बुधबार अमेरिकी सेयर बजारका प्रमुख सूचकमा उल्लेख्य वृद्धि भएको छ । डाउ जोन्स इन्डस्ट्रियल एभरेज ३ प्रतिशतले बढ्दा एसएन्डपी ५०० मा १.६ प्रतिशत र प्रविधि कम्पनीका सेयर समेटिएको न्यास्डाक कम्पोजिटमा १.४ प्रतिशतको वृद्धि भएको थियो ।
निर्वाचन परिणाम र त्यसपछि आएका राजनीतिक अभिव्यक्तिले मध्यपूर्वको तनाव मत्थर हुन सक्ने अपेक्षा बढाउँदा विश्व बजारमा सकारात्मक प्रभाव परेको देखिएको छ ।
प्रकाशित मिति: १९ कार्तिक २०८३, बिहिबार













प्रतिक्रिया