काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारका सबै निर्णयमा समर्थन जनाउनु पार्टीको जिम्मेवारी नभएको बताएका छन् । सरकारका कामकारबाहीमाथि निगरानी राख्ने, आवश्यक प्रश्न उठाउने र निर्णयको औचित्य खोज्ने काम पार्टीले गर्ने उनको भनाइ छ ।
बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले सरकार र पार्टीको कार्यक्षेत्र फरक भए पनि सरकारका निर्णयबारे पार्टीले आवश्यक चासो राख्ने स्पष्ट पारे ।
नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) परिवर्तनको विषयमा पार्टीभित्र असन्तुष्टि रहेको भन्ने प्रश्नमा उनले सुरक्षा निकायका प्रमुखको जिम्मेवारी हेरफेर संवेदनशील विषय भएकाले त्यसको औचित्य पुष्टि गर्ने दायित्व सरकारकै भएको बताए ।
‘पार्टीले आईजीपी फेर, डीआईजी फेर, इन्स्पेक्टर वा सीडीओ फेर भनेर बिलकुल भन्दैन,’ उनले भने, ‘सरकारले काम गर्न आवश्यक कदम चाल्दा त्यसको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारकै हुन्छ । उपयुक्त समयमा सरकारले यसको औचित्य पुष्टि गर्ला ।’
त्यस्तै, सञ्चारमाध्यमको समाचार कक्षमा प्रहरी प्रवेश गरेको घटनाबारे पार्टीले सरकारसँग गम्भीर रूपमा स्पष्टीकरण मागिसकेको उनले जानकारी दिए ।
पछिल्लो समय भइरहेका विभिन्न पक्राउलाई लिएर सञ्चारकर्मीले प्रश्न उठाउँदा लामिछानेले ‘यो टु मच भएन र ?’ भन्ने प्रश्नको जवाफमा ‘हाउ मच इज टु मच ?’ भन्दै प्रतिप्रश्न गरे ।
सरकारले विभिन्न विषयमा अनुसन्धान अघि बढाइरहेको उल्लेख गर्दै उनले सबै घटनालाई एउटै दृष्टिकोणबाट हेर्न नहुने बताए । सरकार र पार्टीका प्रवक्ताले आ–आफ्ना धारणा सार्वजनिक गरिरहेको भन्दै उनले सरकारका निर्णयबारे समयक्रममा थप स्पष्टता आउने दाबी गरे ।
प्रकाशित मिति: १९ कार्तिक २०८३, बिहिबार













प्रतिक्रिया