काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन दर्ता भएको छ । पदमा पुनर्बहालीको माग गर्दै कार्कीले बिहीबार सर्वोच्चमा रिट निवेदन पेस गरेका थिए ।
रिट निवेदन दर्ता भए पनि त्यसको सुनुवाइका लागि पेसी भने तोकिएको छैन ।
कार्कीले आफूलाई आफ्नो पक्ष राख्ने अवसरसमेत नदिई कुनै आधार र कारणबिना गैरकानुनी रूपमा प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाइएको दाबी गरेका छन् । सरकारको निर्णय बदर गरी आफूलाई पुनः आईजीपी पदमा बहाल गर्न उनले माग गरेका छन् ।
मन्त्रिपरिषद्को कात्तिक १८ गतेको निर्णयअनुसार कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णय गरिएको थियो ।
सरकारले रिक्त गराएको प्रहरी महानिरीक्षक पदमा डा. मनोजकुमार केसीलाई नियुक्त गरेको थियो । केसीले बुधबारदेखि नै प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् ।
कार्कीले भने सरकारको निर्णयलाई चुनौती दिँदै आफ्नो पद पुनर्बहालीका लागि न्यायिक प्रक्रिया अघि बढाएका हुन् ।
प्रकाशित मिति: २० कार्तिक २०८३, शुक्रबार













प्रतिक्रिया