काठमाडौं । पूर्वाधार मन्त्री सुनिल लम्सालका यातायात विज्ञ सल्लाहकार अनुकूल निधिको गाडीले सिंहदरबारभित्रै राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेलाई ठक्कर दिएको छ ।
शुक्रबार पूर्वाधार मन्त्रालयअगाडि जेब्रा क्रसिङबाट बाटो काट्ने क्रममा सल्लाहकार निधिको गाडीले ठक्कर दिँदा आफू लडेको सांसद गैरेले बताएकी छन् ।
उनका अनुसार मन्त्रालयअगाडि रहेको जेब्रा क्रसिङबाट बाटो काट्दै गर्दा हातले संकेतसमेत गरेकी थिइन् । तर, तीव्र गतिमा आएको गाडीले उनलाई ठक्कर दिएको थियो ।
‘मन्त्रालयअघि जेब्रा क्रसिङमा म बाटो काट्दै थिएँ, हात पनि दिएको थिएँ । तैपनि मलाई गाडीले ठक्कर दियो, भुइँमा लडेँ,’ गैरेले भनिन् ।
ठक्करबाट बाहिरी चोट नलागे पनि शरीरका विभिन्न भागमा दुखाइ भइरहेको उनले बताएकी छन् ।
पाल्पाकी सांसद गैरेले घटनाबारे राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाललाई समेत जानकारी गराएकी छन् । उनी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट राष्ट्रिय सभा सदस्य हुन् ।
सिंहदरबारभित्रै, त्यो पनि मन्त्रालयअगाडिको जेब्रा क्रसिङमा सांसदलाई गाडीले ठक्कर दिएको घटनाले सरकारी सवारीसाधनको जिम्मेवार प्रयोग र पैदलयात्रीको सुरक्षामाथि प्रश्न उठाएको छ ।
प्रकाशित मिति: २० कार्तिक २०८३, शुक्रबार













प्रतिक्रिया