काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित जनक पाण्डेले न्यायसम्पादनका क्रममा आफू राजनीतिक विचार र आस्थाबाट पूर्ण रूपमा अलग रहने गरेको बताएका छन् ।

शनिबार संसदीय सुनुवाइ समितिमा आफ्नो न्यायिक निष्पक्षतामाथि उठेका प्रश्नको जवाफ दिँदै उनले न्यायाधीशको इजलासमा पुगेपछि राजनीतिक आग्रहभन्दा प्रमाण र मुद्दाको मिसिललाई प्राथमिकता दिने गरेको स्पष्ट पारेका हुन् ।

नेकपा एमालेकी सांसद पद्मा अर्यालले भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको मुद्दामा फरक–फरक राय आउनुको कारणबारे प्रश्न गरेकी थिइन् । जवाफमा पाण्डेले आफूले तत्काल उपलब्ध प्रमाणका आधारमा खाँणलाई थुनामुक्त गर्नुपर्ने राय दिएको भए पनि अन्तिम फैसला आफूले नगरेको बताए ।

उनले उक्त मुद्दामा आफ्नो र अर्का न्यायाधीशको राय फरक परेको तथा तेस्रो न्यायाधीशले खाँणलाई थुनामुक्त गर्ने निर्णय गरेको जानकारी दिए ।

पाण्डेले राजनीतिक विचार हरेक व्यक्तिसँग जोडिएको भए पनि न्यायाधीशको जिम्मेवारी सम्हाल्दा त्यसलाई अदालतबाहिरै छाड्नुपर्ने बताए । उनले भने, ‘हरेक प्राणी एउटा राजनीतिक आइडियोलोजी बोकेर हिँडेको हुन्छ, तर म यता अदालतमा आइसकेपछि मैले त्यो राजनीतिको चप्पल बाहिरै खोलेको छु ।’

राजनीतिक प्रकृतिका मुद्दा अदालतमा आउने भए पनि न्यायाधीशले कुनै दल वा विचारप्रति आग्रह नराखी कानुन, प्रमाण र मिसिलका आधारमा निर्णय गर्नुपर्ने उनको भनाइ थियो ।

यसक्रममा उनले हेटौँडामा कार्यरत रहँदा बागमती प्रदेशका मुख्यमन्त्रीसँग सम्बन्धित मुद्दामा अन्तरिम आदेश माग गरिएको प्रसङ्ग पनि सुनाए । मुख्यमन्त्रीले शपथ लिइसकेको र विश्वासको मतसमेत प्राप्त गरिसकेको अवस्थामा अन्तरिम आदेश जारी गर्न नमिल्ने निष्कर्षमा आफू पुगेको उनले बताए ।

इजलासमा बसेपछि राजनीतिक विषयभन्दा मुद्दामा उपलब्ध प्रमाण र मिसिल नै निर्णयको आधार बन्ने उल्लेख गर्दै पाण्डेले आफूले राजनीतिक प्रभावमा परेर कुनै फैसला नगरेको दाबी गरे ।

प्रकाशित मिति: २१ कार्तिक २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com