इनरुवा । सुनसरीको धरान उपमहानगरपालिका–८, तीनकुनेबाट बरामद गरिएको ४७ किलो शङ्कास्पद वस्तु विस्फोटक पदार्थ भएको पुष्टि भएको छ । प्रयोगशालाको परीक्षणबाट उक्त वस्तु न्यून विस्फोटक पदार्थ अर्थात् गन पाउडर (कालो बारुद) रहेको खुलेको हो ।
कात्तिक १० गते इटहरीबाट धरानतर्फ जाँदै गरेको प्र.०२–००२ ख १६१८ नम्बरको मिनी ट्रक जाँच गर्ने क्रममा भन्सार छली गरी ल्याइएका सामानसँगै बोरामा प्याक गरिएको सेतो ठोस पदार्थ फेला परेको थियो ।
प्रहरीले बरामद गरेको उक्त पदार्थ परीक्षणका लागि नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला, सामाखुसी पठाएको थियो । प्रयोगशालाबाट प्राप्त प्रतिवेदनले उक्त पदार्थ विस्फोटक भएको पुष्टि गरेको सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।
उनका अनुसार परीक्षण प्रतिवेदनमा बरामद पदार्थ न्यून विस्फोटक पदार्थ (गन पाउडर/कालो बारुद) रहेको उल्लेख छ ।
उक्त पदार्थसहित पक्राउ परेका तीन जनामाथि अब विस्फोटक पदार्थसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–४ का २५ वर्षीय प्रदीपकुमार साह तथा जहदा गाउँपालिका–१ का ४२ वर्षीय भूपेन्द्र राजवंशी र कार्तिक राजवंशी रहेका छन् ।
यसअघि उनीहरूमाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको थियो । विस्फोटक पदार्थ भएको पुष्टि भएपछि थप कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी नायव उपरीक्षक खड्काले बताए ।
बरामद विस्फोटक पदार्थ कहाँबाट ल्याइएको हो र यसको ओसारपसारमा को–को संलग्न छन् भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २१ कार्तिक २०८३, शनिबार













प्रतिक्रिया