काठमाडौं । नेपाली कांग्रेसका नेता भूपेन्द्रजंग शाहीले बिचौलिया प्रकरणमा निष्पक्ष छानबिन सम्पन्न नभएसम्म पार्टी सभापति गगन थापाले पदबाट अलग हुनुपर्ने बताएका छन् ।
आइतबार काठमाडौंमा एक आयोजित कार्यक्रममा बोल्दै देउवा पक्षका नेता शाहीले १८ करोड रुपैयाँको सेटिङ र बिचौलिया इनम सापकोटासँग जोडिएको विषयमा निष्पक्ष छानबिन हुनुपर्ने बताएका हुन् । छानबिन पूरा नभएसम्म थापाले कार्यवाहक सभापति विश्वप्रकाश शर्मालाई जिम्मेवारी सुम्पिनुपर्ने उनको भनाइ थियो ।
शाहीले उक्त प्रकरणमा जोडिएका न्यायाधीशले समेत राजीनामा दिनुपर्ने र छानबिन नसकिएसम्म इजलासमा बस्न नहुने धारणा राखे । उनले निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा रातारात पार्टीको नेतृत्व परिवर्तन हुनु रहस्यमय रहेको भन्दै निर्वाचन आयोग र न्यायपालिकाको भूमिकामाथि पनि प्रश्न उठाए ।
‘इनम सापकोटाको बयानपछि निर्वाचन आयोगले कसरी रातारात गगन पक्षलाई पार्टी दिएको रहेछ भन्ने स्पष्ट भएको छ,’ उनले भने । उक्त विषयमा निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने उनको माग थियो ।
कांग्रेसभित्र बढ्दै गएको विभाजन र गुटगत गतिविधिप्रति असन्तुष्टि जनाउँदै शाहीले पार्टीलाई माया गर्ने नागरिकले कांग्रेस एक भएको हेर्न चाहेको बताए । दुवै पक्षले आ–आफ्नो अडान र हठ त्यागे पार्टी एकताबद्ध भएर अघि बढ्न सक्ने उनको भनाइ थियो ।
गगन थापालाई सरकारले पक्राउ गर्न लागेको भन्ने चर्चालाई शाहीले भ्रमको खेतीको संज्ञा दिए । कांग्रेस नेता उदयशमशेर राणाले पहिलोपटक उक्त हल्ला चलाएको उल्लेख गर्दै थापा पक्षले जनतालाई भ्रममा पार्न आफैँ यस्तो प्रचार गरेको आरोप लगाए ।
यसैगरी, शाहीले गगन थापाको राजनीतिक नैतिकतामाथि प्रश्न उठाउँदै १८ करोडको प्रकरण सार्वजनिक भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुण्डु पुगेको विषयमा असन्तुष्टि जनाए । ओलीको अनुहारसमेत हेर्न नचाहने अभिव्यक्ति दिएका थापा पछि उनैलाई भेट्न जानुको कारण स्पष्ट पार्नुपर्ने उनको भनाइ थियो ।
उनले कांग्रेसमा कुनै एक नेतालाई प्रश्न गर्नै नपाइने र त्यही व्यक्ति लोकतन्त्र तथा प्रजातन्त्रको पर्याय भएको भाष्य निर्माण गर्न खोजिएको भन्दै त्यसप्रति सचेत रहन आग्रह गरे ।
प्रकाशित मिति: २२ कार्तिक २०८३, आइतबार













प्रतिक्रिया